रत्ननगर, चितवन, २२ कात्तिक (रासस) । भारतमा भेटिएको दुर्लभ एकसिंगे गैँडाको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जले आज प्राविधिक सहितको टोली परिचालन गरेको छ ।
निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन शाखाबाट पशुचिकित्सक र प्राविधिक सहितको टोली आज भारत पठाइएको निकुञ्जले जनाएको छ । भारतबाट प्राप्त सूचनाका आधारमा गैँडाको अवस्था बुझ्न भारत पुगेको टोलीले गैँडा भएको पुष्टि गरेपछि आज उद्धारका लागि टोली भारत गएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं पूर्वी क्षेत्र प्रमुख अभिनय पाठकले जानकारी दिए ।
उनका अनुसार चितवनबाट चारवटा हात्तीसहित करिब ४० जनाको टोली आज बिहानै भारत पुगेको छ । भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीको सहयोगमा गैँडाको उद्धार गरिने जनाइएको छ । नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुईवटा गैँडा भेटिएको थियो ।
दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पु¥याएकाले सो गैँडालाई डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर ल्याइने भएको छ ।
यसअघि बाढीले बगाएका आठ गैँडालाई भारतबाट उद्धार गरिसकिएको छ । गएको साउन २८ गते आएको बाढीका कारण ती गैँडा बगाएका थिए ।
हतियार बुझाउन स्थानीय प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालयले निर्वाचनमा हतियारको प्रयोग हुनसक्ने भन्दै वैध वा अवैधरूपमा राखिएका सबै हतियार बुझाउन निर्देश गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अवैध हतियार बुझाउने म्याद यही कात्तिक मसान्तसम्मलाई दिइएको भन्दै त्यसपछि हतियार फेला पारे कडा कारबाही गरिने चेतावनी दिए । जिल्लामा १८७ वटा हतियार दर्ता भएपनि दर्ता नगरी र नवीकरण नगरी हतियार राखिएको भए तत्काल बुझाउन आग्रह गरिएको र अटेर गरेमा हतियार खोजीमा प्रहरी टोली पचिालन गरिने प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
स्थानीय निर्वाचनका बेला चितवनमा २९ वटा हतियार फिर्ता भएकामा दर्ता नभएका भरुवा बन्दुक पाँचवटा थियो । वैध हतिायार फिर्ता गराइएको र अहिलेको निर्वाचनलाई ध्यानमा राखेर पुनः हतियार बुझाउन आह्वान गरिएको थापाले जानकारी दिए ।
उनका अनुसार अहिले जिल्लामा घरेलु मदिरा नियन्त्रण अभियान, गुण्डा नियन्त्रण अभियान र नाका क्षेत्रमा कडा निगरानी थालिएको छ । जिल्लामा १६१ मतदानस्थलमा ४०८ मतदान केन्द्र तोकिएको छ । हरेक स्थलमा अवस्था हेरेर ११ देखि ४९ जनासम्म प्रहरी परिचालन हुने प्रहरीले जनाइएको छ । जसका लागि एक हजार ७०० भन्दा बढी म्यादी प्रहरी र झण्डै तीन हजार ३०० जनपद प्रहरी परिचालन हुनेछन् । नेपाली सेना र सशस्त्र प्रहरी आवश्यकताअनुसार परिचालन हुने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार १४:४६