ललितपुर, १९ कात्तिक (रासस) । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै गाउँ-गाउँमा चुनावी चहलपहल ह्वातै बढेको छ ।

दैनिकी दिनचर्याबाहेक अन्य गतिविधि शून्य हुने गाउँघरमा चुनावी माहोलको सरगमी बढ्दै गएको छ । निर्वाचनको परिणाम आफ्नै पोल्टामा पार्न पार्टीका नेता अहिले घर-घरमा भोट माग्न पुगिरहेको सजिलै देख्न पाइन्छ ।
विसं २०७० मा सम्पन्न संविधानसभाको निर्वाचनपछि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन जनता जति आतुर देखिन्छन् त्यति नै नेता आफ्नो बहसमा मत पार्न कसरत गरिरहेका छन् । नयाँ संरचनाअनुसार हुन लागेको निर्वाचनले पनि जनतामा उत्साह छाएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान सांसद मदनबहादुर अमात्य मत माग्न व्यस्त भएका छन् । दोस्रो सविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर ३ बाट अमात्य भारी मतका साथ विजयी हुनुभएको थियो ।
“जसरी २०७० सालको निर्वाचनमा ललितपुर काँग्रेसको किल्ला भयो त्यसरी नै मंसिरमा हुने निर्वाचनले उक्त किल्ला कायम रहने सभापति अमात्यको भनाइ थियो ।”
मंसिरमा हुने दोस्रोचरणको निर्वाचनमा सो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार समेत रहेका अमात्यले जनताको विश्वास अझै काँग्रेसमाथि रहेको बताए । लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसको विजय आवश्यक रहेको उनको धारणा थियो ।
जनतालाई आफ्ना आवाज अभिव्यक्त गर्न र हक अधिकारलाई सुनिश्चित पार्न लोकतन्त्रमा मात्र सम्भव हुने उनको तर्क थियो ।
विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनले २३ हजार ५६१ मत प्राप्त गरेका थिए । यही मतलाई कायम राख्न सके मात्र काँग्रेसको विजय सुनिश्चित हुने वामगठबन्धनले कुनै असर पार्न नसक्ने उम्मेदवार अमात्यको दाबी थियोे । ललितपुरमा रहेको तीनवटै क्षेत्र र छ वटा प्रदेशमा काँग्रेसको विजय सुनिश्चित पार्न पार्टी कटिबद्ध रहेको सभापति अमात्यले बताए ।
क्षेत्र नं २ का प्रतिनिधिसभाको उम्मेदवार रहेका काँग्रेसका चन्द्र महर्जनले जनता मत खसाल्न आतुर रहेकाले आफू पनि मतमाग्न गाउँघर पुगिसकेको बताए ।
यस क्षेत्रबाट दोस्रो संविधानसभाको निर्वाचनमा विजयी महर्जनले यस पटक पनि सजिलै चुनाव जित्नसक्नेमा ढुक्क रहेको बताए ।
वामगठबन्धन र लोकतान्त्रिक गठबन्धमध्ये जनताले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । यस क्षेत्रबाट काँग्रेसले २०७० सालको निर्वाचनमा २३ हजार ५३० मत प्राप्त गरेको थियो ।
राणाशासन र राजालाई फ्याकेर देशमा प्रजातन्त्र स्थापना गर्न काँग्रेसले नेतृत्व गरेको अवस्थामा आज पनि लोकतन्त्र स्थापनाका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको नेता महर्जनले दाबी गरे ।
अर्थराज्यमन्त्री एवं निवर्तमान सांसद समेत रहेका उदयशम्शेर राणाले देशको हरेक अप्ठ्यारो परिस्थिति काँग्रेसकै पहलमा समाधान भइरहेको उल्लेख गर्दै नयाँ संरचनाअनुसार हुनलागेको निर्वाचनले देशलाई समृद्ध बनाउने बताए ।
आर्थिक क्रान्ति र देशको विकासका लागि आगामी मंसिरमा हुनलागेको केन्द्र र प्रदेशको चुनावमा काँग्रेसको पक्षमा जनलहर आउनुको विकल्प नभएको उनले उल्लेख गरे ।
‘‘संविधान निर्माण काँग्रेसकै नेतृत्वमा भएको हो, अव त्यसको कार्यान्वयनका लागि मंसिरमा हुने चुनावले साकार पार्नेछ’’ –उनले भने ।
दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसबाट उम्मेदवारी भएर निर्वाचित भएका राणा यस पटक पनि सो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार भएका छन् । आफ्नो कार्यकालमा काठमाडौंँबाट हेटाैँडासम्म जोड्ने कान्तिलोकपथ सडकको निर्माणले तीव्रता पाएको र विकासको आधारमा जनताले आफूलाई चुनेर पठाउनेमा ढुक्क रहेको राणाको भनाइ छ ।
प्रकाशित मिति: १९ कार्तिक २०७४, आईतवार १६:३८