सुर्खेत, १७ कात्तिक । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि सुर्खेतबाट नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । चुनावी दौडमा उत्रेका नेता मध्ये तीन जना निवर्तमान सांसद रहेका छन् भने केही पुराना र नयाँ अनुहार पनि छन् ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ १ नम्बर क्षेत्रबाट पूर्णबहादुर खड्का र दुई नम्बर क्षेत्रबाट हृदयराम थानीलाई उम्मेदवार बनाएको छ भने निर्वाचन क्षेत्र नम्बर १ को (क) मा टेकबहादुर सिंह, (ख) मा झकबहादुर डाँगी र निर्वाचन क्षेत्र नम्बर २ काे (क) मा कमलराज रेग्मी, (ख) मा तप्तबहादुर विष्टलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी वाम गठबन्धनबाट निर्वान क्षेत्र नम्बर १ मा एमालेका ध्रुवकुमार शाही र क्षेत्र नम्बर २ बाट एमालेका नवराज रावतलाई उम्मेदवार बनाएको छ भने निर्वाचन क्षेत्र नम्बर १ को (क) मा माओवादी केन्द्रका ठम्मर विष्ट, (ख) मा एमालेका खड्क खत्री र निर्वाचन क्षेत्र नम्बर २ को (क) मा एमालेका यामलाल कंडेल, (ख) मा माअाेवादी केन्द्रका विन्दमान विष्टलाई उम्मेदवार बनाएको छ ।
चुनावी मैदानमा उत्रेका मध्य काँग्रेसका उम्मेदवार खड्का, थानी, विष्ट निवर्तमान सांसद र रेग्मी जिल्ला सभापति हुन् भने एमालेका उम्मेदवार कंडेल पूर्व सांसद र शाही जिल्ला अध्यक्ष हुन् ।
२ वटा प्रतिनिधिसभा र ४ वटा प्रेदश सभा निर्वाचन क्षेत्र रहेकाे सुर्खेतमा चुनावी मैदानमा उत्रेका मुख्य दलका १२ उम्मेदवार मध्ये पूर्णबहादुर खड्का, हृदयराम थानी, तप्त बहादुर विष्ट, यामलाल कंडेल, नवराज रावत, ठम्मर विष्ट यसअघि पनि चुनावी मैदानमा थिए भने कमलराज रेग्मी, ध्रुवकुमार शाही, टेकबहादुर सिंह, झकबहादुर डाँगी, खड्क खत्री, विन्दमान विष्ट नयाँ अनुहार हुन् ।
प्रकाशित मिति: १७ कार्तिक २०७४, शुक्रबार ०७:२६