रत्ननगर, चितवन, १६ कात्तिक (रासस) । सर्वसाधारण तथा विभिन्न पेशाकर्मीले संविधान कार्यान्वयन, स्थायी शान्ति र देशको समृद्धिका लागि अहिलेको चुनाव महत्वपूर्ण हुने बताएका छन् ।
विसं २०६२-६३ सालको जनआन्दोलनपछि शुरु भएको शान्ति प्रक्रियाको पूर्णताका लागि पनि अहिलेको चुनाव सफलताका साथ सम्पन्न हुनुपर्नेमा उनीहरुको जोड छ । त्यसैले पनि यो निर्वाचनबाट सर्वसाधारणले ठूलो अपेक्षा राखेका छन् ।
स्थानीय तहको निर्वाचन सकिएपछि स्थानीय सरकार बनेको छ । सर्वसाधारणले आफूले रोजेका नेता पाए । अहिले गाउँगाउँमा विकासका काम अघि बढ्न थालेका छन् । स्थानीय तहका गतिविधि शान्तिपूर्ण रुपमा अघि बढ्दै छ । अबको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि देश विकासको महत्वपूर्ण खाका तयार हुने भएकाले पनि सर्वसाधारणमा उत्साह देखिन्छ ।
संघीय संरचनाको पूर्णताका लागि पनि निर्वाचन सफल हुनुपर्ने बताउँछन् चितवनको भरतपुरका एकजना व्यवसायी मनोज अर्याल । पहिलो चरणको ३२ जिल्लाको निर्वाचनका लागि मनोनयन दर्तासँगै अहिले चुनावी प्रचार अभियान चलिरहेको छ । आज दोस्रो चरणको ४५ जिल्लाको निर्वाचनका लागि मनोनयन दर्ता भइरहेको छ । पहिलो चरणको मंसिर १० र दोस्रो चरणको निर्वाचन मंसिर २१ मा हुँदैछ । यसपटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को अगुवाइमा बाम गठबन्धन तथा नेपाली काँग्रेसको नेतृत्वमा प्रजातान्त्रिक गठबन्धनको अभ्यास भएको देखिन्छ ।
फरक खालको राजनीतिक ध्रुवीकरण देखिए पनि अन्ततः यसले देशलाई फाइदा नै हुने कतिपयको विश्लेषण छ । अर्याल चुनावी तालमेल मात्रै नभई यो तालमेल दिगो रुपमा अघि बढ्नुपर्नेमा जोड दिन्छन् ।
चिकित्सक डा ढुण्डीराज पौडेल स्थिर सरकार आवश्यक भएको र अहिलेको चुनावले आशा गर्ने ठाउँ दिएको प्रतिक्रिया दिन्छन् ।
शान्ति प्रक्रियाको सबैभन्दा ठूलो काम नयाँ संविधान निर्माण सफल भएको छ । संविधान कार्यान्वयनका लागि पनि अहिलेको निर्वाचन आजको आवश्यकता हो ।
स्थानीय सरकारसमेत बनिसकेको अवस्थामा अब प्रदेश र प्रतिनिधि सभा निर्वाचन संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण पाटो भएको पूर्वी चितवनका स्थानीय ईश्वरराज पौडेलको भनाइ छ । पौडेल भन्छन्, “विकासका लागि विदेशमा रहेका युवा स्वदेशमै श्रम, सीप र पुँजी लगाउन तयार छन् तर लगानीको ग्यारेन्टी छैन । यो निर्वाचनपछि बन्ने सरकारले त्यो वातावरण सिर्जना गर्छ भन्ने अपेक्षा छ ।”
पर्यटन क्षेत्र पनि पछिल्लो पाँच वर्ष समस्या ग्रस्त भयो । विभिन्न अवरोधका कारण पर्यटन क्षेत्र प्रभावित छ । अब दुईवटै निर्वाचनपछि भने स्थायी सरकार हुने आशा पलाएको व्यवसायी बताउँछन् । सौराहाका पर्यटन व्यवसायी जीतु तामाङ निर्वाचन भए देशले सही गन्तव्य लिने बताउँदै संविधान कार्यान्वयनसँगै देशमा शान्ति अमनचयन कायम हुने आशा व्यक्त गर्छन् । त्यसपछि देश विकासमा फड्को मार्ने भनाइ तामाङको छ ।
स्थायी शान्ति र समृद्धिको आशाका कारण सर्वसाधारण अहिलेको चुनावमा सहभागी हुन आतुर छन् । होटल व्यवसायी गणेश ढकाल यो निर्वाचन संविधान कार्यन्वयनका लागि महत्वपूर्ण रहेको र यसपछि राजनीतिक अस्थिरता समाप्त हुने बताउँछन् ।
प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहीबार १७:२४