काठमाडौँ, १६ कात्तिक (रासस) । प्रजातन्त्र पुनः स्थापना भएपछि पहिलो सभामुख दमननाथ ढुङ्गाना पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली काँग्रेसले भक्तपुर क्षेत्र नं २ बाट उनलाई प्रतिनिधिसभाको अगामी निर्वाचनको प्रतिस्पर्धामा उतारेको हो ।
विस २०४८ को पहिलो संसदीय निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं २ बाट विजय भएका थिए । यसपछि उनी प्रजातन्त्र स्थापनापछि पहिलो पटक गठन भएको व्यवस्थापिका–संसद्मा नेकाका तर्फबाट सभामुख पदमा सर्वसम्मतरूपमा चयन भएका थिए ।
उसो त विसं २०४६ मा प्रजातन्त्र स्थापनाका लागि भएका राजनीतिक आन्दोलन, प्रजातन्त्र स्थापनापछिको अन्तरिम सरकार गठन र अन्तरिम संविधान जारी गर्न उनले कानुनी क्षेत्रबाट पु¥याएको योगदानले तत्कालीन संयुक्त वाममोर्चाका नेतृत्वलाई समेत चकित बनाएको थियो । करिब २३ वर्षको अन्तरालमा पूर्वसभामुख ढुङ्गाना विस २०६२-६३ मा गणतन्त्र स्थापनापछिको तेस्रो निर्वाचनमा होमिएका हुन् । विस २०५१ को मध्यावधि निर्वाचनमा पराजित भएपछि उनी नेकाको मूल राजनीतिभन्दा शान्ति प्रक्रिया टुङ्ग्याउन नागरिक समाजका अगुवामको रूपमा नेतृत्व गर्दै आएका थिए ।
पाँच निर्वाचनमा विजयी सभापति देउवा र वरिष्ठ नेता पौडेल
प्रजातन्त्र पुनः स्थापना भएपछि सम्पन्न आम निर्वाचनमा विजयी हुँदै अाएका नेका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आ–आफ्नै गृह जिल्ला क्रमशः डडेलधुरा र तनहुँबाट चुनावी प्रतिस्पर्धामा होमिने भएका छन् ।
विसं २०४८, २०५१, २०५६, २०६४, २०७० का आम निर्वाचनमा उनीहरूले आ–आफ्नै जिल्लाबाट जनताको मन जितेका थिए । उसो त ती निर्वाचनमा हाल नेकाका नेता विजयकुमार गच्छदार पनि विजयी हुँदै अाएका छन् ।
संविधानसभाका निर्वाचन विसं २०६४ र विस २०७० का निर्वाचनमा उनले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)को अध्यक्षका रूपमा सुनसरीबाट ती निर्वाचनमा विजयी भएका थिए ।
प्रत्यक्षमा निर्वाचनमा पहिलो पटक उम्मेदवार
नेकाका नेत्री डा आरजुराणा देउवा प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपटक कैलाली क्षेत्र नं ५ बाट उम्मेदवार चयन भएका थिए । दोस्रो संविधानसभामा उनी समानुपातिक तर्फबाट संविधानसभा सदस्य थिए ।
यसैगरी नेका संसदीय दलका उपसचेतक ईश्वरीदेवी न्यौपाने पनि पहिलोपटक प्रत्यक्ष निर्वाचनमा कैलाली क्षेत्र नं १ मा टिकट प्राप्त गरेकी छन् । यसअघि उनी समानुपातिक सदस्य थिइन् ।
यसैगरी कैलाली क्षेत्र नं २ बाट नेकाका तर्फबाट मोहनसिंह राठौरले टिकट प्राप्त गरेका छन् । यसअघिको निर्वाचनमा उनी नेकपा (एमाले)का तर्फबाट सोही जिल्लाबाट सांसद पदमा निर्वाचित भएका थिए ।
लामोसयमदेखि नेकाको केन्द्रीय सदस्य रहेका सुनिलकुमार भण्डारीले पनि कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधिसभाको निर्वाचनमा टिकट प्राप्त गरेका छन् । उनले नेपाल परिवार नियोजन संघको अध्यक्ष हुँदा वहुचर्चित गर्भपतनसम्बन्धी ऐन ल्याउन अहम् भूमिका निर्वाह गरेका थिए ।
यसैगरी नेकाले प्यूठानमा प्राडा गोविन्दराज पोखरेललाई टिकट दिएको छ । पुनः निर्माण प्राधिकरणको कार्यकारी प्रमुखबाट राजीनामा दिई उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
उपत्यकामा अधिकांश पुरानै
नेकाले काठमाडाैँ उपत्यकाभित्र संविधानसभाको दोस्रो निर्वाचन विसं २०७० को निर्वाचनमा वियजी भएकालाई नै पार्टीका तर्फबाट उम्मेदवार बनाएको छ । काठमाडाैँमा नेका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई क्षेत्र १ बाट चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
यसैगरी नेताहरू गगनकुमार थापा, भीमसेनदास प्रधान, नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, दीपक कुइँकेल र राजनकुमार केसीले टिकट प्राप्त गरेका छन् । उनीहरू यसअघिको निर्वाचनमा पनि विजयी भएका थिए । नयाँ अनुहारमा काठमाडौँ क्षेत्र नं ५ मा डा प्रकाशशरण महत र क्षेत्र नं ३ मा अम्बिका बस्नेतले टिकट प्राप्त गरेका छन् ।
यसैगरी ललितपुरमा चन्द्र महर्जन र मदनबहादुर अमात्यले प्रत्यक्ष तर्फबाट टिकट प्राप्त गरेका छन् । विसं २०७० को संविधानसभा निर्वाचनमा उनीहरू सोही जिल्लाबाट विजयी भएका थिए ।
यस्तै भक्तपुरमा बाबुराजा जोशी र दमननाथ ढुङ्गानाले टिकट प्राप्त गरेका छन् ।
प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहीबार १७:१६