चितवन, १६ कात्तिक (रासस) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन र दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन दुवै राजनीतिक स्थिरताका लागि भएको बताएका छन् ।
चितवन क्षेत्र नं ३ बाट आज प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग दाहालले आर्थिक विकास र समृद्धिका निम्ति दुवै गठबन्धन ठूलो अवसर भएको बताए ।
यो गठबन्धन वाम गठबन्धनबाट मात्रै नभएर दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धनबाट पनि भएकाले देशमा राजनीतिक स्थिरताको वातावरण बन्ने उनले बताए । नेपाली जनता, राष्ट्रिय हित र एकताको निम्ति दुवै गठबन्धन हितकर हुने पनि उनको भनाइ थियो ।
देशमा ७० वर्षदेखि राजनीतिक स्थिरता हुन नसकेको भन्दै अध्यक्ष दाहालले भने, “नेपालको इतिहासमा पाँच वर्ष कुनै सरकार टिक्न सकेन, जसले नेपाली जनताको आर्थिक विकास र समृद्धिको चाहना कहिल्यै पूरा हुन सकेन ।”
यो निर्वाचनमा वामपन्थी एकता कायम गरेर कम्युनिस्ट शक्तिलाई एक ठाउँमा विशेष उद्देश्यका साथ नयाँ तालमेलसहित आफू चितवन आएको भन्दै उनले यो ऐतिहासिक क्षण भएको आफूले महसुस गरेको बताए ।
सशस्त्र द्वन्द्वपछि पहिलोपटक रोल्पा र काठमाडौँ र दोस्रोपटक सिरहाबाट निर्वाचित भएर गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बन्नुभएका दाहालले पहिलोपटक गृहजिल्ला चितवनबाट उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारी दर्तामा प्रस्तावक माओवादी नेता अमिक शेरचन र समर्थकमा नेकपा (एमाले)का क्षेत्र नं ३ का संयोजक रामजीप्रसाद सापकोटा रहेका छन् ।
चितवनको सम्पन्नता दुईभाइको काँधमा – पाण्डे
वाम गठबन्धनबाटै चितवन क्षेत्र नं १ मा उम्मेदवारी दिएका नेकपा (एमाले)का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू पूर्व अर्थमन्त्री र दाहाल पूर्व प्रधानमन्त्री भएको भन्दै उनले चितवनको सम्पन्नता माथि उठाउने जिम्मेवारी दुईभाइको काँधमा आएको बताए ।
वाम गठबन्धनले चितवन क्षेत्र नं १ सुरेन्द्र पाण्डे, २ कृष्णभक्त पोखरेल र ३ बाट पुष्पकमल दाहालको उम्मेदवारी दर्ता गराएको हो ।
त्यसैगरी प्रदेशतर्फ १ को ‘क’ बाट एमालेका दावा लामा, ‘ख’ बाट एमालेकै कृष्ण खनाल, क्षेत्र नं २ ‘क’ बाट माओवादी केन्द्रका घनश्याम दाहाल, ‘ख’ बाट एमालेका विजय सुवेदी र क्षेत्र नं ३ ‘क’ बाट एमालेका कृष्णप्रसाद भुर्तेल र ‘ख’ बाट माओवादी केन्द्रका रामलाल महतोले उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रकाशित मिति: १६ कार्तिक २०७४, बिहीबार १६:५२