काठमाडौँ, १३ कात्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने विजयी हुने निर्वाचन प्रणालीतर्फ छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरी छपाइ कार्यसमेत शुरु गरिसकेको जानकारी गराएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा बेग्लाबेग्लै मतपत्रको व्यवस्था गरी छपाइ कार्यसमेत प्रारम्भ भइसकेको औपचारिकरुपमा जानकारी गराए ।
मतपत्रका बारेमा सर्वाेच्च अदालतमा परेको रिटमाथि अदालतले दिएको आदेशको सम्मान गर्दै आदेशको मर्म र भावनाअनुरुप बेग्लाबेग्लै मतपत्र छपाइ गर्ने क्रममा बझाङ र बैतडी जिल्लाको मतपत्र छपाइ शुरु भइसकेको उनले बताए ।
समयको चाप, मतपत्रको छपाइ, मतदाता शिक्षा, ढुवानी, जनशक्ति, मतपेटिका, तालीम आदिजस्ता विषयको व्यवस्थापन गर्न निकै कठिन र चुनौती भएपनि संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको आगामी निर्वाचनको सुनिश्चिततालाई आयोगले अदालतको भावना र मर्मको सम्मान गर्दै तोकिएकै मितिमा निर्वाचनको जिम्मेवारी पूरा गर्ने दृढताका साथ अघि बढेको प्रमुख निर्वाचन आयुक्त डा यादवले जानकारी दिए ।
उनले भने, “निर्वाचनलाई तोकिएकै समयमै सम्पन्न गर्ने क्रममा आइपर्ने विभिन्न खाले चुनौती र संकटको व्यवस्थापन गर्दै दृढ आत्मबलका साथ आयोग अघि बढेकाले अब देशको कुनै पनि शक्तिले निर्वाचनलाई रोक्न सक्दैन ।”
मतपत्र फरक भएपछि मतपेटिकाको कसरी व्यवस्थापन कसरी गर्ने भन्नेमा छलफल भइरहेकोमा त्यो विषय पनि छिट्टै टुङ्गो लगाउने सो अवसरमा जानकारी दिइयो ।
प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार २१:१९