हेटौंडा १२ कात्तिक । धरान-चतरा-गाइघाट-कटारी-सिन्धुली-हेटौंडा सडकको ट्र्याक खुलेको छ । पहाडी क्षेत्रलाई लक्षित गरी पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा एक वर्षअघि यो सडक निर्माण सुरु गरिएको हो । तीन वर्षभित्र ११ मिटर चौडाईको दुई लेन सडक निर्माण गर्ने गरी पश्चिमखण्ड इकाइ सडक आयोजनाले निर्माणको काम गरिरहेको छ । आयोजनाले शनिबार हेटौंडामा अन्तरक्रिया गरी यसबारे जानकारी गराएको हो ।
कार्यक्रममा निर्माण कम्पनी, इन्जिनियर र सरोकारवालाको सहभागितामा थियो । धरानदेखि हेटौंडासम्म सवारी ओहोरदोहर गर्ने गरी ट्र्याक खोल्ने कार्य सकिएको कार्यक्रमा जानकारी दिइयो । योजनाका पश्चिखण्ड प्रमुख कर्णबहादुर रानाभाटले सडकको भौतिक प्रगति करिब पाँच प्रतिशत मात्र देखिए पनि सामाजिक तथा आर्थिक प्रगति करिब १५ प्रतिशत भइसकेको जानकारी दिए ।
सडक स्तरोन्नतिका लागि ठेक्कामार्फत काम धमाधम भइरहेको उनले बताए । दुई दर्जनभन्दा बढी मेसिन प्रयोग गरी सिन्धुलीको खट्टार, धमिले र मकवानपुरको बागमती गाउँपालिकामा सडक ११ मिटर चौडा पार्ने काम धमाधम भइरहेको उनले बताए । ‘मकवानपुर र सिन्धुलीको अधिकांश स्थानमा २५ किमिभन्दा बढी सडक खण्डलाई दुई लेन निर्माणका लागि ट्र्याक खोलिसकिएको छ’,उनले भने, ‘सडक निर्माणको काम सम्पन्न भएपछि यो मार्गले सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोड्दै पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा काम गर्नेछ ।’
कुल तीन सय १८ किलोमिटर रहेको सडकको पश्चिमी खण्डमा सिन्धुलीमा ६६ र मकवानपुरमा ४८ किलोमिटर छ । सडक योजनाअनुसार यस सडकखण्डमा पर्ने रूख कटान, विद्युत् पोल हटाउने लगायत कार्य तीव्र रूपमा अघि बढेको छ । सिन्धुलीदेखि हेटौंडासम्मको एक सय १४ किलोमिटर सडकमा करिब चार हजार तीन सय रुख काट्नुपर्ने देखिएकामा कानुनी प्रक्रिया पुर्याई करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको योजना प्रमुख रानाभाटले जानकारी दिए । सडक विस्तारका क्रममा सडकमा रहेका विद्युत् पोल स्थानान्तरण गर्न विद्युत् प्राधिकरण हेटौंडा शाखाले अटेर गरेको उनको गुनासो छ ।
दुई दर्जनभन्दा बढी मेसिन प्रयोग गरी सिन्धुलीको खट्टार, धमिले र मकवानपुरको बागमती गाउँपालिकामा सडक ११ मिटर चौडा पार्ने काम भइरहेको छ ।
‘प्राधिकरणको हेटौंडा शाखासँग पोल स्थानान्तरण गर्ने विषयमा छलफलका लागि पटकपटक आग्रह गर्दा समेत बेवास्ता भएको छ’,उनले भने । सडक निर्माणको ठेक्का लिएको कालिका स्वच्छन्द र्यानकेन जेभीका प्रतिनिधि ठाकुर ढकालले आफूहरूले उच्च प्रविधिको मेसिन प्रयोग गरी सडक निर्माण गरिरहेको बताए । सिन्धुलीको मरिन गाउँपालिका र मकवानपुरको बकैया गाउँपालिकाले मुआब्जाको ग्यारेन्टी नभएसम्म सडक विस्तार गर्न नदिने भनेपछि करिब ४० किलोमिटर सडकको काम भने रोकिएको उनले जानकारी दिए ।
यस्तै पुल निर्माणको ठेक्का लिएको कम्पनी जाइक एन्क लुम्बिनी जेभीका प्रतिनिधि अमृत महर्जनले चालू आर्थिक वर्षभित्र ६० प्रतिशत पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले राष्ट्रिय महत्वको आयोजना भएकाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको बताए । ‘टाइम, कस्ट र क्वालिटीभित्र रहेर सडक निर्माणको काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्दछु’,उनले भने,‘बजेटका कारण सडक निर्माण रोकिन्न ।’
आयोजनाका पश्चिम इकाइ प्रमुख रानाभाटले चालू आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारले डेढ अर्ब बजेट छुट्याएको जानकारी दिए ।
सिन्धुलीदेखि हेटौंडासम्म कुल नौ अर्ब खर्च हुने अनुमान गरिएकामा एक सय १४ किमि सडक निर्माणमा ६ अर्ब र ३३ वटा पक्की पुल निर्माणका लागि तीन अर्ब खर्च हुने उनले बताए । धरानदेखि हेटौंडासम्म कुल तीन सय १८ किलोमिटर सडक निर्माण गर्न सरकारले करिब २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
प्रकाशित मिति: १२ कार्तिक २०७४, आईतवार ०७:०६