विदुर, ११ कात्तिक । नेपाली काँग्रेसका महासमिति सदस्य एवं नुवाकोट प्रतिनिधीसभा १ को प्रदेश ‘ख’ का उम्मेदवार रमेश महतले नेपाली काँग्रेस नुवाकोट सम्पूर्ण एकताका साथ निर्वाचन अभियानमा होमिएको वताउँदै काँग्रेसको सुदृढ एकताको अगाडि कुनै पनि गठवन्धनको अर्थ नरहने दावी गरेका छन्। सधै काँग्रेसको अनेकतामा आफ्नो सफलता देख्ने विपक्षीको मनोवृत्ती दिग्भ्रिमित मानसिकताको उपज मात्र भएको महतको भनाई थियो ।
शनिवार नुवाकोट क्षेत्र नं. १ अन्तर्गतको लिखु गाउँ पालिकाको ढिकुरेमा वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा काँग्रेस नेता महतले नुवाकोटमा अहिलेको निर्वाचन विकासवादी र विनासवादीहरु वीच भईरहेको वताउँदै विकास विरोधीहरु आफैं समाप्तीको चरणमा पुगेको वताए ।
नुवाकोटको विकास अभियानका महारथीहरु अर्जुननरसिंह केसी र रामशरण महतको ऐक्यवद्ध नेतृत्वमा अझै धेरै विकास अभियानहरु सार्थकतामा पुर्याउन पनि काँग्रेसको जित अपरीहार्य रहेको वताउँदै नेता महतले काँग्रेसले सुरु गरेको विकास अभियान अवरुद्ध पार्ने माओवादीसंग गठजोड गर्ने एमाले पनि जनताको मतवाट वहिस्कृत हुने वताए ।
नुवाकोट जिल्ला सदैव प्रजातन्त्रवादीहरुको किल्लाको रुपमा रहेको र प्रजातन्त्रनै समाप्त पार्न गरिएको कम्युनिष्ट गठवन्धनले जनताको मत प्राप्त गर्न नसक्ने वताउँदै नेता महतले आगामी निर्वाचनले अलीअली वाँकी रहेको साम्यवादी धङधङीलाई पनी समाप्त गरिदिने वताए । “नुवाकोटका जनता लोकतन्त्र चाहन्छन, काँग्रेस एकढिक्का भएर निर्वाचनमा आएको छ, काँग्रेस हराउने कल्पना कम्युनिष्टको दिवास्वप्न मात्र हुनेछ” –महतको थप भनाई थियो ।
कार्यक्रममा पुराना काँग्रेस नेता डिल्लीप्रसाद ढकाल, लिखु गाउँ पालिकाका अध्यक्ष धु्रव श्रेष्ठ, काँग्रेस नेता विनोद पाठक, प्रेस यूनियनका पूर्व केन्द्रीय सदस्य शिव देवकोटा, जिल्ला अध्यक्ष किरण अधिकारी, काँग्रेस नेताहरु माधव लामिछाने, नरहरी पाण्डे, अप्सरा ढकाल, विकास बिक्रम थापा लगायतले कम्युनिष्ट गठवन्धनको गलत प्रचारको ऐक्यवद्ध प्रतिकार गर्दे अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार १५:३९