सुर्खेत, ११ कात्तिक । भेरीगंगा नगरपालिका मैनतडा साविक वडा नम्बर ७ की प्रमिशा बि.क. हाल जिल्ला कारागार सुर्खेतमा जेल जिवन बिताइरहेकी छन्। उनीसंगै उनकी २ वर्षकी छोरी नितु बि.क. पनि कारागारमा बस्न बाध्य भएकी छिन् ।
२०७१ सालमा भेरीगंगा नगरपालिका मैनतडाका खिमबहादुर बि.क. संग बहुबिवाह गरेकी प्रमिशालाई उनकी जेठी सौताले प्रमिशा संगै श्रीमान खिमबहादुरलाई बहुबिवाह मुद्दामा उजुरी गरेकी हुन् । बहुबिवाह मुद्दा लागेर कारागार आउँदा उनकी छोरी नितु ९ महिनाकी थिइन् । छोरी संगै जेल जिवन बिताइरहेकी प्रमिशाका श्रीमान् पनि जिल्ला कारागार सुर्खेतमा सजाय काटीरहेका छन् ।
यसरी प्रमिशा र खिमबहादुरले गरेको गल्तीको सजाय उनीहरुकी छोरी नितु बि.क. ले पनि सजाय काटीरहेकी छिन् । २०७१ सालमा बहुबिवाह गरेका प्रमिशा बि.क. र खिमबहादुर बि.क.ले गरेको गल्तीको भागेदार उनीहरुकी छोरी नितु बनेकी छन् । बुवा, आमा र हजुरबुवा, हजुरआमाको माया पाउने उमेरमा २ वर्षकी नितु आमा संगै जेलमा बुवा, आमाले गरेको गल्तीको सजायकी भागीदार बनेर बसेकी छन् ।
प्रमिशा भन्छिर्न छोरीको विषयमा धेरै सोच्छु, के गर्ने हामिले गरेको गल्तीले गर्दा अहिले छोरीलाई पनि जेलमा बस्नु परेको छ ।’ प्रमिशाले छोरीलाई आफ्नो गल्तीको भागीदार बनाउन चाहादिनन् तर उनको बिश्वासीलो र भरपर्दो आफ्नो मान्छे नहुँदा उनी आफ्नी छोरीलाई बाहिर पठाउँन चाहादिनन् । उनी जिल्ला कारागार सुर्खेत आएको जम्मा ११ महिना भएको छ । तर उनी ३ बर्षका लागि सजाय काट्न आएकी छन् । उनका अनुसार घरमा बिश्वासीलो आफ्नो मान्छे भए छोरी नितुलाई घरमा लगेर हुर्काउन र पढाउन चाहान्छिन् ।
यस्तै भेरीगंगा नगरपालिका किच की चन्द्रकला पाण्डे पनि आफ्नी २ बर्षकी छोरी सुष्मा पाण्डेसंगै जेल जिवन बिताइरहेकी छिन् । २०७२ सालमा आफ्नै छिमेकीको गोठमा आगलागीको मुद्दामा आएकी पाण्डे आफुलाई मानसिक रोग लागेको बताउँछिन् । गोठ आगो लगाएको आरोपमा छिमेकीले उजुरी दिएपछि उनी छोरीसंगै जिल्ला कारागार सुर्खेतमा सजाय काट्न आएकी हुन् ।
चन्द्रकला पाण्डे छोरीलाई कारागारमा ल्याउँदा उनकी छोरी सुष्मा जम्मा ५ महिनाकी थिइन् । घरमा ३ वटी छोरीलाई छाडेर उनले आफ्नो काखमा रहेकी ५ महिनाकी छोरीलाई लिएर जिल्ला कारागार सुर्खेत आएकी हुन् । उनले आफुलाई मानसिक रोग हुदाँ आगो लगाएको थाहा नपाएको र छिमेकीले आरोप लगाएर उजुरी दिएको बताउँछिन् । आफु कारगारमा आउँदा घरमा रहेका तिनवटा छोरीको बिचल्ली त भएको छ नै तर आफुसंगै बसेकी आफ्नी २ बर्षकी छोरी सुष्माको भविष्य सम्झेर चिन्ता लाग्ने गरेको पाण्डे बताउँछिन् ।
मानसिक रोगको उपचार गरेसंगै आफुलाई केही हदसम्म निको भएको कैदी चन्द्रकला पाण्डेले बताइन् । उनले आफु मानसिक रोगले गर्दा केही कुरा थाहा
नपाएको र बेकसुर भएका बताउँछिन् । उनले आउँदो जेठमा आफु बाहिर निस्कने झिनो आशा व्यक्त गरीन् । छिमेकीसंग कुरा मिलेपछि आफु बाहिर निस्कन मिल्ने बताउने पाण्डेले सिफारिसको आशामा छोरीसंगै जेलजिवन काटीरहेकी छन् ।
घरमा रहेका छोरीहरुको यादले सताउने गरेको र आफुसंगै रहेकी छोरीको भविष्य कतै अन्धकारमा हुने को की भन्ने चिन्ताले पिरोलीरहने गरेको उनी बताउँछिन् । छोरीहरुको भविष्यका बारेमा चिन्तित रहेकी पाण्डे छोरीहरुका कुरा गर्दा उनको आखाँमा आशु रसाएको प्रष्ट देखीन्थ्यो र्। आफ्नो गल्ती भनु या त रोग नै त्यस्तै थियो मैले अझै थाहा पाउन सकेकी छुइन उनले भनिन् ।’
छोरीको भविष्य सम्झेर नै आउँदो जेठमा आफु निस्कन नपाएपछि छोरीलाई घरमा सुन्दर भविष्यका लागि पठाउने निधो उनले गरेकी छन् । उनी अहिले जिल्ला कारागार सुर्खेतमा आएको आउँदो माघमा २ बर्ष हुन्छ । उनका श्रीमान भारत गएर मजदुरी गर्ने गरेको पाण्डेले बताइन् । पाण्डेकी जेठी छोरीको बिहे भएको र माइली छोरी ७ मा अध्यन र साइली छोरी ४ मा अध्यन गर्दै छन् ।
हाल जिल्ला कारागार सुर्खेतमा १७ जना महिला कैदी र २ बालिका दुईवटा कोठामा बसेका छन् भने १७५ जना पुरुष कैदी ७ वटा कोठामा बसीरहेको जेलर लालबहादुर खत्रीले जानकारी दिए ।
प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार १०:१३