इनरुवा, २८ असोज (रासस)। संघीय समाजवादी फोरम नेपाल सुनसरीले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नं २ बाट सिफारिस गरेको छ ।
पार्टीको जिल्ला बैठकले यादवको नाम क्षेत्र नं २ र ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको पार्टीले जनाएको छ ।

सुनसरीको क्षेत्र नं २ बाट यादव र सचिव पर्शुराम बस्नेतको पनि नाम सिफारिस गरेको छ । फोरमबाट जिल्लाका प्रदेश र संघको प्रतिनिधि सभाका लागि १२ पदका लागि १२३ जना सम्भावित नाम सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष महेन्द्र यादवले जानकारी दिए ।
जिल्लाबाट प्रत्यक्षबाट १२ जना र समानुपातिक १४ उम्मेदवारका लागि १२३ जनाको नाम सिफारिस गरिएको हो ।
प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नं १ बाट वरिष्ठ नेता अशोककुमार राई, ध्यानबहादुर राई, भीम राई सिफारिसमा परेका छन् भने समानुपातिकतर्फ दुर्गामाया लिम्बू, विरेश थापा, रकम चेम्जुङ, ध्यानबहादुर राईको नाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेशसभा सुनसरी–१ (क) को प्रत्यक्षतर्फका लागि राजेन्द्र इस्बो लिम्बू, विपिन इवाराम लिम्बू, मानभगत चामलिङ र समानुपातिकतर्फ विरेश थापा, मान भगत चामलिङ, किरण देवानलाई सिफारिस गरिएको छ । क्षेत्र नं १(ख) मा प्रत्यक्षतर्फ शुभचन्द्र राई, जयमान सम्पाङ राई र समानुपातिकतर्फ मनोज प्रधान, लालबहादुर बिनापुमा राईलाई सिफारिस गरिएको छ ।
त्यसैगरी क्षेत्र नं २ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पार्टी अध्यक्ष उपेन्द्र यादव, सचिव पर्शुराम बस्नेत, भीम राई, तेजनारायण चौधरी र देवकृष्ण मेहताको नाम सिफारिस गरिएको छ ।
प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार १२:४१