काठमाडौ २४ असोज । नेपाल र बंगलादेशको कूटनीतिक संयन्त्रले नेपाल, बंगलादेश, भारत र भुटान (बीबीआईएन) उपक्षेत्रीय सञ्जाल फ्रेममा रहेर दुईपक्षीय विषयलाई अघि बढाउने सहमति गरेका छन् । परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठकमा व्यापार, यातायात सञ्जाल, जनस्तरको सम्बन्ध, पर्यटन, बन्दरगाह उपयोगजस्ता विषयमा छलफल भएको ढाकास्थित नेपाली दूतावासले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ ।
बैठकमा जनस्तरको सम्बन्धका विषयमा थप गृहकार्य गर्नुपर्ने विषयमा पनि समझदारी भएको विज्ञप्तिमा जनाइएको छ । दुई देशबीचको व्यापार प्रवद्र्धन, ऊर्जा क्षेत्रमा लगानी, सम्पर्क सञ्जाल विस्तार, संस्कृति, उच्च शिक्षा र पर्यटन प्रवद्र्धनलगायत विषयमा पनि बैठकमा छलफल भएको दूतावासले जनाएको छ ।
उच्च शिक्षाका लागि बंगलादेश पुगेका नेपाली विद्यार्थीको संख्या धेरै रहेको र उनीहरूका विषयमा पनि त्यहाँको सरकारले ध्यान दिनुपर्ने विषय छलफलमा उठेको अधिकारीहरूले बताए । संयन्त्रमा छलफल भए पनि तयारी अभावले ठोस निर्णय भने हुन सकेन ।
यातायात र बन्दरगाहका विषयमा कूटनीतिक संयन्त्रमा छलफल हुने यसअघि नै तय भए पनि त्यसमा तयारी अभाव देखिएको एक सहभागीले बताए ।
बंगलादेश र नेपालबीच यातायात सञ्चालनका विषयमा छलफल हुने भनिए पनि अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन । नेपालको आन्तरिक गृहकार्य कमजोर हुँदा कतिपय विषय अघि बढ्न नसकेको हो ।
परराष्ट्र सचिव शंकरदास बैरागी नेतृत्वको टोलीले बंगलादेशका परराष्ट्रमन्त्री अबुल हसान मोहमद अलीसँग पनि छुट्टै भेट गरेको थियो । टोलीमा परराष्ट्रका सहसचिव तथा दक्षिण एसिया (राजनीति) महाशाखा प्रमुख भृगु ढुंगाना, वाणिज्य र ऊर्जा मन्त्रालयका सहसचिव पनि सहभागी थिए ।
यसअलावा दूतावासबाट राजदूत डा. चोपलाल भुसाल पनि सहभागी थिए । छलफलका क्रममा दुईपक्षीय सहकार्य र समन्वयलाई थप विस्तार गर्ने समझदारी भएको बताइएको छ । यातायात सञ्जाल र ऊर्जा व्यापारका लागि पावर हब (उपक्षेत्रीय ग्रिड) मा बढी जोड दिइएको पनि अधिकारीहरूले बताए ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गत घोषित बीबीआईएन उपक्षेत्रीय संयन्त्र भुटानको संसदले पारित नगरेपछि आफैं अन्योलमा छ ।
प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलवार ०७:२७