सुर्खेत, १६ असोज । प्रदेश नम्बर ६ को राजधानी रहेको सुर्खेतमा मंसिर २१ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न प्रमुख दल नेपाली कांग्रेसले गाउँ, नगरबाट आएका नामलाई प्राथमिकताका आधारमा टुंगो लगाउने अन्तिमचरणमा छ र एमालेले भने नाम टुंगो लगाउन सक्रियता बढाएको छ उता माओवादी केन्द्रले उम्मेदवारको नाम टुंगो नै लगाइ सकेको छ ।
खड्का र थानी सर्वसम्मत
नेपाली कांग्रेसको संघमा हुने १ र २ नम्बर क्षेत्रको उम्मेदवारको नाम क्षेत्रीय समितिबाटै निर्विरोध भएको छ । संघका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्व सहमहामन्त्री एवं केन्द्रीय सदस्य पूर्णबहादुर खड्का र क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य हृदयराम थानीको नाम सिफारिस गरेको छ ।
असोज १२ गते बसेको क्षेत्रीय समितिले क्षेत्र नम्बर १ बाट संघमा हुने निर्वाचनका लागि पूर्व गृहमन्त्री समेत रहेका खड्काको नाम सिफारिस गरेको हो भने असोज १५ गते बसेको क्षेत्रीय समितिले क्षेत्र नम्बर २ बाट संघमा हुने निर्वाचनका लागि पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेका थानीको नाम सिफारिस गरेको हो ।
त्यसैगरी सुर्खेतका ४ वटा प्रदेशका लागि नेपाली कांग्रेसले गाउँ नगर समितिबाट आएका नामलाई प्राथमिकताका आधारमा नाम जिल्लामा सिफारिस गरेको जनाएको छ ।
रावत, कोइराला, रेग्मी र विष्ट पहिलो नम्बरमा
गाउँ नगरबाट प्राथमिकताका आधारमा सिफारिस गरिएका मध्ये प्राथमिकताका आधारमा पहिलो नम्बरमा आएका उम्मेदवारकाे नामहरुमा क्षेत्र नम्बर १ को ‘क’ सिम्ता र गुर्भाकोट क्षेत्रबाट वीरेन्द्र रावत, ‘ख’ चिङगाढ, लेकवेसी र भेरीगंगा क्षेत्रबाट क्षेत्रीय सभापति नारायणकुमार कोइराला र क्षेत्र नम्बर २ को ‘क’ वीरेन्द्रनगर क्षेत्रबाट जिल्ला सभापति कमलराज रेग्मी, ‘ख’ चौकुने, पञ्चपुरी र बराहताल क्षेत्रबाट सञ्चार राज्य मन्त्री तप्तबहादुर विष्ट रहेका छन् । क्षेत्रीय समितिले पाँचौ नम्बरसम्मका नाम जिल्लामा पठाएको जनाएको छ ।
एमालेको औपचारिक छलफल आजबाट
त्यसैगरी एमालेले पनि संघ र प्रदेश दुवैका लागि नाम सिफारिसलाई तिब्रता दिएको जनाएको छ । एमालेले संघका लागि क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष ध्रुवकुमार शाही र क्षेत्र नम्बर २ बाट नवराज रावत र शिवप्रसाद उपाध्यायको नाम चर्चामा रहेको छ ।
त्यसैगरी प्रदेशका लागि निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ सिम्ता र गुर्भाकोटबाट डण्डी शर्मा र ऐनबहादुर चन्दको नाम चर्चामा रहेको छ भने ‘ख’ चिङगाड, लेकवेसी र भेरी गंगाबाट खड्कबहादुर खत्री, रत्न अधिकारी, धनसिंह खड्का र टिकाराम सोमैको नाम चर्चाका रहेको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ वीरेन्द्रनगर क्षेत्रबाट पोलिटब्यूरो सदस्य यामलाल कंडेलको नाम चर्चामा रहेको छ भने ‘ख’ चौकुने, पञ्चपुरी र बराहताल क्षेत्रबाट मोहन बडुवाल, हरि अधिकारी लगायतको नाम चर्चामा रहेको छ ।
माओवादी केन्द्रले टुंगो लगायो
माओवादी केन्द्रले भने सुर्खेतका सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । जिल्लाबाट टुंगो लागेका संघ र प्रदेशसभाका उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गरिसकेको जनाएको छ ।
संघका लागि क्षेत्र नम्बर १ मा ठम्मर बहादुर विष्ट र क्षेत्र नम्बर २ मा नरबहादुर विष्टलाई सिफारिस गरेको छ ।
त्यस्तै प्रदेश सभाका लागि क्षेत्र नं. १ को ‘क’ बाट जयबहादुर डाँगी, ‘ख’ बाट जितबहादुर राना र निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट गणेश भण्डारी, ‘ख’ बाट विन्दमान विष्टलाई उम्मेदवार बनाउने सिरफारिस गरेको छ ।
प्रकाशित मिति: १६ आश्विन २०७४, सोमबार ०८:२६