जुम्ला, ९ असोज (रासस) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नै कर्णालीको समृद्धिको आधार भएको बताएका छन् ।
जुम्लाको सिँजामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले कठिन संघर्षले ६ नं प्रदेशको निर्माण भएको जनाउँदै कर्णालीको समृद्धि माओवादीको प्रमुख एजेण्डा रहेको तर्क गरे ।
माओवादीबिना देशको समृद्धिको कल्पना गर्न नसकिने दाबी गर्दै उनले आफू नेतृत्वको सरकारले नेपालको ७.५ प्रतिशत आर्थिक वृद्धि गर्नुका साथै संविधानअनुसार मुलुकको संघीयता कार्यान्वयन गरेको जनाए ।
उनले कर्णालीमा समृद्धि ल्याउनका लागि नाग्म–मुगु सडक, सिँजा सभ्यताको विकास र मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने सडक निर्माणमा जोड दिने बताए । गरिब, श्रमजीवी नेपालीको आस्थाको धरोहर पार्टी माओवादी केन्द्र ठानेर अहिले प्रवेशको लहर चलेको उनको भनाइ थियो ।
सो अवसरमा अध्यक्ष दाहालले नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धिताल र जिल्ला अध्यक्ष खम्ब शाहीसहित ७०० कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए ।
माओवादी केन्द्र पार्टी प्रवेश गरेलगत्तै अध्यक्ष दाहालले नवप्रवेशी धिताललाई तिला, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिका समेटिएको २ नं क्षेत्रबाट प्रदेशसभाका लागि टिकट दिएको घोषणा गरेका थिए ।
उनले तराईको चुनावपूर्व माओवादी केन्द्र प्रवेश गर्ने नवप्रवेशीलाई टिकट दिँदा जीत हात परेको र यसपटक धिताललाई दिएको टिकटले पार्टीको विजय हुने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार ०६:५०