महोत्तरी, ८ असोज (रासस) -हिन्दूको घरआँगनमा बडादशैँ आएलगतै मिथिलाञ्चल क्षेत्रमा रात्रि समयमा झिझिया नृत्यको रौनक छाएको छ ।
महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत मिथिलाञ्चलको धर्ती दशैँ अवधिभरि नै झिझियाका लोकगीतले चल्बलाउन थाल्छ । महिलाहरु समूह बनाएर झिझिया नृत्यमा सहभागी हुन्छन् । राति खाना खाएर महिलाहरु ग्रामीण देवता (ब्रह्मबाबा)को मन्दिरमा जम्मा भई झिझिया नृत्य शुरु गर्छन् । ब्रह्मबाबालाई सलामी (एउटा सुपारी) राखेर शुरुवात गरिने सो नृत्यमा युवतीदेखि लिएर वृद्धासम्मका महिला सहभागी हुन्छन् ।
नृत्यमा सहभागीमध्ये एक जनाले टाउकामा एउटा घैंटो राखेको हुन्छ जसमा साना साना प्वाल पारिएको हुन्छ । सोभित्र अलिकति गोबर राखी दियो बालिएको हुन्छ ।
वर्षाैँदेखि चल्दैआएको धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्नका लागि महिलाहरु संलग्न भइरहेको महोत्तरी भरतपुरकी शिक्षिका सुनिता महतोले बताइन् । “पछिल्लो समयमा आएर विभिन्न किसिमका आन्दोलनले गर्दा राति घरबाट निस्किने वातावरण नभएकाले नृत्यको रौनकमा केही कमी आएको छ”, उनले भनिन् । घटनास्थापनादेखि शुरु भएको झिझिया नृत्य दशैँ अवधिभरि चल्छ ।
घर घरमा इष्टदेवको पूजापाठ
बडादशैँको आवागमनसँगै घरघरमा विशेष आराधनापूर्वक इष्टदेवको पूजापाठ गरिँदैआएको छ । प्रत्येक वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म हरेक व्यक्तिले आआफ्ना इष्टदेव एवं कुलदेवतालाई विशेष रुपमा पूजाआजा गर्ने प्रचलन छ ।
दशैँ अवधिभरि कुलदेवता प्रायः घरघरमा बसोबास गर्ने धार्मिक विश्वासका कारण सो अवधिमा दिनरात पूजापाठ भइरहेको गौशाला नगरपालिकाका मोहन ठाकुरले बताए । वर्षभरि गरिएको भाकल पूर्ण भएपछि दशैँ अवधिमा विशेष पूजाआजा गरी भाकल चढाउने गरेकाले पूजापाठ गर्नेको संख्यामा वृद्धि भएको विजलपुराका विजय सिंहले बताए ।
दशैँ अवधिमा कोखियागुहायर (सन्तान प्राप्तिका लागि गरिने विशेष पूजा) र बोक्सीको उपद्रवबाट बच्नका लागि धामीझाँक्रीको माध्यमबाट उपचार गराउनेको भीड लागेको छ । पीडितले धामीझाँक्रीलाई आफ्नै घरमा राति आमन्त्रण गरी पूजापाठ गराउने गरेको किसाननगरका प्रगास चौधरीले बताए ।
यसैगरी महोत्तरीका विभिन्न धार्मिक देवस्थलमा भक्तजनको भिड लागेको छ । दशैँको शुरुआतीसँगै सोनामाइस्थित सोनामाई मन्दिर, जलेश्वरस्थित त्रिशूलीदेवी मन्दिर, बर्दिबासस्थित पञ्चधुरामाई मन्दिर, गौशालास्थित जल्पामाई मन्दिर, पडौलस्थान, कारिकस्थानलगायत धार्मिक एवं प्राचीन मन्दिरमा दिनरात भक्तजनको भिड लागेको छ ।
सो स्थानमा टाढाटाढाबाट श्रद्धालु भक्तजन आउने गरेका छन् । त्यस्तै गाउँगाउँमा बनाइएका दुर्गाको मन्दिरमा समेत बिहान र बेलुकी पूजाआरती गर्ने भक्तजनको भीड लाग्ने गरेको छ ।
प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार १३:२१