काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गरेकी छिन् ।
संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको आजको दिन महत्वपूर्ण ऐतिहासिक दिन भएको उल्लेख गरेकी छिन् ।
“संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रादेशिक र संघीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेका छौँ । यी सबै निर्वाचनले राज्य संचालनका संवैधानिक र कानुनी व्यवस्था एवम् लोकतन्त्रका संरचनालाई थप संस्थागत र सुदृढ गर्नेछन् भन्ने मैले विश्वास लिएको छु”,राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा उल्लेख छ ।
आजको दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा मिल्ने र यसप्रति सबै नेपाली कृतसंकल्पित हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानले धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको उल्लेख गरेकी छिन् ।
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउँदै उनले सन्देशमा कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा केन्द्रित रहनु जरुरी भएकामा जोड दिएकी छिन् ।
देश आर्थिक समृद्धिको यात्रामा जाने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णिम दिन संविधान दिवसका अवसरमा देशविदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
सोही उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका प्रमुख पक्ष स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेश र संघको निर्वाचन घोषणा भइसकेको बताउँदै संविधान दिवसको पूर्वसन्ध्यामा प्रदेश नं २ मा उत्सवका रुपमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्ने मतदातामा बधाई ज्ञापन गरेका छन् ।
स्थानीय तहमा जस्तै प्रदेश र संघको निर्वाचनमा उत्साहका साथ सहभागी भई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्न आग्रह गर्दै उनले संविधानको पूर्ण कार्यान्वयनसँगै राजनीतिक संक्रमण पूर्ण अन्त्य भई देश आर्थिक समृद्धिको यात्रामा दु्रततर गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । रासस
प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलवार ०५:१५