कांग्रेसले प्रत्यक्षतर्फ मात्रै नभएर समानुपातिकतर्फ समेत उम्मेदवारको सूची क्षेत्रीय कार्यसमितिकै सिफारिसमा जिल्ला कार्यसमितिबाटै माग गर्ने भएको छ । ‘समयले च्याप्दै गएको र प्रधानमन्त्रीसमेत बाहिर जाने भएकाले उम्मेदवारको सिफारिसका लागि छलफल सुरु भएको हो,’ पार्टी नेता अर्जुननरसिंह केसीले भने, ‘सिफारिस गर्ने आधारहरूका बारेमा विशेष रूपमा छलफल भएको छ ।’ बैठकमा बोल्ने अधिकांशले अबका चुनावमा पार्टी भावनात्मक रूपमै एक भएर उत्रनुपर्ने बताएका थिए । पार्टीभित्रको भागबन्डा नमिल्दा उत्पन्न हुने असन्तुष्टिले स्थानीय तहमा कांग्रेस दोस्रो स्थानमा पुगेको बताउँदै नेताहरूले त्यसको अन्त्यका लागि स्थानीय तहमा उम्मेदवार छनोट गर्दा भएका गल्ती दोर्याउन नहुनेमा जोड दिएका थिए । पार्टीभित्रको विवादलाई आन्तरिक रूपमै छलफल गरी पार्टीभित्र बृहत् एकताको सन्देश दिनुपर्नेमा पनि नेताहरूले जोड दिएका छन् ।