काठमाडौं, २७ भदौ । यातायात व्यवसायीले मंगलबारदेखि दसैंका लागि टिकट बुकिङ खुला गरेका छन्।
यातायात व्यवसायीहरुले पूर्वका लागि कोटेश्वर र गौशाला तथा पश्चिमका लागि गोंगबू नयाँ बस पार्क र सुन्धारा काउन्टरबाट दसंंैका लागि अग्रिम बुकिङ खुला गरेको हो । तर टिकट वितरण व्यवस्थित नभएको पाइएको छ ।
टिकट बुकिङ गर्न पुगेकी पाँचथरकी नेत्रहिन कुमारी ऐलनले आरक्षण सिटको व्यवस्था नभएको पाइएको समेत गुनासो गरिन् । मंगलबार विहानै गोंगबुस्थित नयाँ बसपार्क काउन्टरमा दसैंको अग्रिम टिकट बुकिङ गर्नु पुगेकी ऐलनले सरकारले नेत्रहिनका लागि दिएको आरक्षणको सुविधा समेत कटौति भएकोमा आक्रोश व्यक्त गरिन् । कुमारीले भनेको ठाउँको टिकट नपाइएको पनि जानकारी दिइन् । पाँचथरका लागि टिकट लिन पुगेकी उनले नपाउने भएपछि बाध्य भएर झापा विर्तामोडसम्मको टिकट लिनु परेको गुनासो पनि गरिन् ।
त्यसैगरी गोंगबु बसपार्कमै भेटिएकी प्रकृति राईले पनि टिकट वितरण व्यवस्थित नभएको गुनासो गरिन् । धनकुटाको लागि टिकट बुकिङ गर्न पुगेकी उनले दसैंमा घर जाने टिकट नपाउने हो कि भन्ने चिन्ता लागेको पनि बताइन् ।
जाजरकोटका कर्ण गिरीले विगतमा भन्दा पनि यो वर्ष दसैंको टिकटको वितरणको व्यवस्थापन कमजोर भएको गुनासो गरे । उनले भिडभाडका कारण टिकट कतिखेर पाउने हो भन्ने एकीन नभएको पनि स्पष्ट पारे ।
यता, यातायात व्यवसायीहरुले भने दसैंका लागि टिकटको लागि कुनै समस्या नरहेको दावी गरेको छ । राप्ती अंचल सार्वजनिक यातायात सेवा समितिका टिकट बुकिङ इन्चार्ज ढुण्डीराज कँडेलले टिकट सहज रुपमै दिइएको दावी गरे । उनले दसंैमा घर जानका लागि टिकट अभाव हुन नदिने पनि स्पष्ट पारे । इन्चार्ज कँडेलले टिकटको मूल्य बढि लिने नगरेको र त्यस्तो पाईए कडा कार्वाही हुने चेतावनी पनि दिए ।
यातायात व्यवसायीहरुले पहाडी जिल्लाहरुमा भने टिकट लिनेको चाप देखिएको पनि बताएका छन् । उनीहरुले टिकट लिन चाप भएका ठाउँहरुमा बसको व्यवस्था गर्ने पनि जनाएका छन्। देशका मुख्य, मुख्य सहरहरुमा भने टिकट बुकिङ गर्नेहरुको चाप नभएको यातायात व्यवसायीहरुको दावी छ ।
काठमाडौं उपत्यकाबाट मात्रै दसैंमा करिव २५ लाख सर्वसाधारण बाहिरिने गरेपनि सरकारले त्यसको उचित व्यवस्था गर्न नसकेको गुनासो गरिएको छ । यातायात व्यवसायीहरुले छतमा पनि यात्रु राख्न पाउने व्यवस्था गर्न सरकार सहमत भएपछि मंगलबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार १४:२९