काठमाडौं २६ भदाै । नेपालका सञ्चारमाध्यममा विज्ञापन प्रकाशन तथा प्रसारणको मध्यस्तता गर्दै आएका विज्ञापन एजेन्सीहरूको वार्षिक आम्दानी ४ अर्ब ३६ करोड रुपैयाँ रहेको एक अध्ययनले देखाएको छ ।
तथ्यांक विभागले सन् २०१४/१५मा गरेको सर्वेक्षणअनुसार विज्ञापन एजेन्सीहरूले सञ्चारमाध्यमबाट ४ अर्ब २० करोड ७८ लाख र अन्य कामबाट १५ करोड २२ लाख आम्दानी गर्ने गरेका छन् ।
विभागले मुलुकमै पहिलोपटक गरेको यस्तो अध्ययनको निचोड भने भरपर्दो नभएको सरोकारवालाह बताउँछन् । नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष राजकुमार भट्टराई अध्ययन गरिएको वर्ष अर्थात सन् २०१४/१५ को कुल विज्ञापन बजार नै जम्मा ४ अर्ब ५० करोडको रहेको बताउँछन् ।
“तथ्यांक विभागले भने झैँ ४ अर्ब २० करोड ७८ लाख आम्दानी होइन, त्यस वर्षको कुल विज्ञापन बजार मात्रै हो,” उनले भने, “गत वर्ष भने विज्ञापन बजार बढेर ७ अर्ब रूपैयाँ हाराहारी पुगेको छ ।”
विभागले भने विज्ञापन एजेन्सीको क्षेत्रको लगानी, आम्दानी, खर्च, जनशक्तिलगायतका विषयहरूमा केन्द्रीत रहेर गत वर्ष गरेको सर्भे प्रतिवेदन ‘नेपाल एडभरटाइजिङ एजेन्सी सर्भे २०१४/१५’ विभागले प्रकाशित गरको हो ।

सर्वेक्षण प्रतिवेदनले विज्ञापन एजेन्सीहरूको गतिविधीलाई ‘व्यापार व्यवसायसँगै राष्ट्रिय अर्थव्यवस्थालाई समृद्ध बनाउन योगदान पु¥याउँदै आएको’ चित्रण गरेको छ ।
तथ्यांकअनुसार एजेन्सीहरूको अधिकृत पुँजी ७४ करोड ९३ लाख र जारी पुँजी ५१ करोड ५६ लाख रहेको छ । अध्ययनको समयमा विज्ञापनको क्षेत्रमा २ हजार ४४ जना प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न रहेकोमा एजेन्सीहरूका कुल कर्मचारी संख्या भने १ हजार ८ सय ४८ रहेको उल्लेख छ ।
एजेन्सीमा संलग्न मानव संशाधनको पुँजीगत योगदान ३९ करोड ६७ रहेको तथ्यांकको निष्कर्ष छ । यसअघि एजेन्सीको तथ्यांक, लगानी र पुँजी परिचालनको विषयमा तथ्यांकको एकरूपता नभएको परिप्रेक्षमा सर्वेक्षणले स्पष्ट चित्र देखाएको विभागको भनाइ छ ।
अध्ययन वर्षमा एजेन्सीहरूले छापाबाट वार्षिक १ अर्ब ६२ करोड ८६ लाख रकम आम्दानी गरेको देखिन्छ भने टेलिभिजन र सिनेमा क्षेत्रको विज्ञापनबाट १ अर्ब ५६ लाख आम्दानी गरेका छन् ।
रेडियो तथा एफएमबाट ३० करोड ५८ लाख, आउटडोर कामबाट २६ करोड, अनलाइन मिडियाबाट ६ करोड ४३ लाख, र सामाजिक सञ्जालबाट ४ करोड कमाउने गरेका छन् ।
विज्ञापन उत्पादन सामग्रीबाट मात्र ४६ करोड ६४ लाख र विज्ञापनका लागि खरिद गरिएका समाग्री विक्रीबाट मात्र ४२ करोड ८० लाख रकम आम्दानी गरेको तथ्यांक छ ।
एजेन्सीका अन्य आम्दानीका स्रोतहरूमा विज्ञापन उत्पादन सामग्री भाडा, बोनस, कमिसन, मार्केटिङ प्रमोसन, डिजाइन, विशेषज्ञ सेवालगायत रहेका छन् । वास्तविक एजेन्सीको संख्या भने यसअघिको अनुमानभन्दा निकै न्युन रहेको तथ्यांक प्रतिवेदनमा छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका एजेन्सीको संख्या २ हजार १ सय ७८, राजस्व कार्यालयबाट प्यान नम्बर लिएकाको संख्या १ हजार ५ सय ७७ र नेपाल विज्ञापन संघ (आन) मा दर्ता भएका एजेन्सीको संख्या भने २ सय ९८ रहेको पाइएको तथ्यांकमा उल्लेख छ । जसमध्ये मुलुकभर नियमित रूपमा काम गर्दै आएका एजेन्सी भने २ सय ३५ मात्र रहेको विभागले जनाएको छ ।
मुलुकभरको २४ जिल्लामा एजेन्सीहरू सञ्चालनमा छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा १ सय ४५ कम्पनी छन् भने ललितपुरमा २२ छन् । उपत्यकाको भक्तपुरमा भने एउटा मात्र एजेन्सी रहेको पाइएको छ । एजेन्सी बढी रहेका तेस्रो जिल्ला चितवनमा ९ वटा, कास्की र मोरङमा ७/७ वटा, सुनसरीमा ६, झापा र कन्चनपुरमा पनि ४/४ वटा रहेको पाइएको छ ।
प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार ०७:५५