काठमाडौं २१ भदाै । प्रदेश २ अन्तर्गतका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा उम्मेदवारको मनोनयनका लागि आज (बुधबार) उम्मेदवारी दर्ता हुँदै छ । बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आयोगले मनोनयनको अघिल्लो दिन (मंगलबार) पत्रकार सम्मेलन गरेर निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको बताएको हो ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले तीन चरणमा गराएर भए पनि सबैको सहभागितामा स्थानीय तह निर्वाचन सम्पन्न हुने वातावरण बन्नु उपलब्धिमूलक भएको उल्लेख गरे । ‘तीन चरणमा गरेर भए पनि स्थानीय तह निर्वाचनमा सबै दलको सहभागिता हुनु सकारात्मक कुरा हो, यसलाई उपलब्धिमूलक मान्नुपर्छ,’ प्रमुख आयुक्त यादवले पत्रकार सम्मेलनमा भने ।

उम्मेदवारी मनोनयन दर्ताका लागि दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो स्थानीय तहमा रहेको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्ने आयोगले जनाएको छ । दर्ता भएका उम्मेदवारको बुधबार नै सूची प्रकाशन हुनेछ ।
यस्तै दर्ता भएका उम्मेदवारमाथि बिहीबारसम्म उजुरी दिन सकिने छ । उम्मेदवारविरुद्ध परेका उजुरीको जाँच सोही दिन गरिने आयोगले जनाएको हो ।
आयोगको कार्यतालिकाअनुसार २३ भदौमा मनोनयन परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ । सार्वजनिक भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा २३ गते नै फिर्ता लिन सक्नेछन् । यस्तै २४ गते आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने सोही दिन नै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगको कार्यतालिकामा उल्लेख छ ।
आयोगले २ असोजका दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । प्रदेश २ का आठ जिल्लामा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै स्थानीय तहमा १ हजार २ सय ७१ वडा कायम भएका छन् । प्रदेश २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् भने ३ हजार ५ सय ७८ मतदान केन्द्र र २ हजार १ सय ६६ मतदान स्थल निर्धारण गरिएको छ ।
निर्वाचनका लागि स्वयंसेवकसहित ३१ हजारभन्दा बढी कर्मचारी खटिने आयोगले जनाएको छ । प्रदेश २ मा स्थानीय तहको निर्वाचनमार्फत प्रमुख एवं अध्यक्ष पदमा १ सय ३६, उपप्रमुख एवं उपाध्यक्ष १ सय ३६, वडाध्यक्ष १ हजार २ सय ७१ तथा ५ हजार ८४ वडा सदस्यसहित कुल ६ हजार ६ सय २७ जनप्रतिनिधिको चयन हुनेछन् ।
यसअघि अन्य प्रदेशमा निर्वाचन दुई चरणमा गरी सम्पन्न भइसकेको छ भने प्रदेश नम्बर २ मा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालको माग पूरा गर्न भन्दै सरकारले निर्वाचन सारेको थियो । यसअघि ३१ वैशाख र १४ असार गरी दुई चरणमा ६ वटा प्रदेशमा निर्वाचन भइसकेको छ । पहिलो चरणमा २ सय ८३ र दोस्रोमा ३ सय ३४ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार ०८:१५