काठमाडौ २० भदौ । पी.पी. प्रसाई फाउण्डेसनले पर्यटन व्यवसायी कर्ण शाक्यलाई टुरिजमको लाईफटाइम अचिभमेन्ट अवार्ड २०१७ बाट सम्मान गरेको छ ।
फाउन्डेशनले आज काठमाडौमा गरेको कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले पर्यटन व्यवासायी तथा लेखक शाक्यलाई यो अवार्ड प्रदान गर्नुभएको हो । यसैगरी वितगका बर्षहरु जस्तै यस बर्ष पनि पी.पी प्रसाई फाउन्डेशनले शिक्षकहरुलाई पनि सम्मान गरेको छ ।
जस अन्र्तगत यसबर्षको उत्कृष्ट शिक्षकको रुपमा दाङको पद्मोदय पब्लिक नमुना उच्च माविका शिक्षक दुर्गा प्रसाद पाण्डे सम्मानित भए।
प्रदेश स्तरीय उत्कृष्ट शिक्षकहरुमा १ नम्बरबाट आर्दश माध्यमिक विद्यालय झापाका हेमकुमार खड्का, प्रदेश नं. ३. बाट नीलबाराही मा.वि. कालिमाटी, काठमाण्डौंकी जानुका नेपाल, प्रदेश नं. ४ बाट गलकोट माध्यामिक विद्यालय बाग्लुङका देवेन्द्रबहादुर खत्री, प्रदेश नं.५ बाट शंकर दुर्गादत्त मा.वि रुपन्देहिका चण्डीप्रसाद पाण्डेय, प्रदेश नं. ६ बाट नेपाल राष्ट्रिय आधारभूत विद्यालय, विरेन्द्रनगर नगरपालिकाकी चन्द्रा भण्डारी न्यौपाने र प्रदेश नं. ७ बाट जनसेवा मा.वि. बघौरा गणेशपुर कैलालीकी गंगा भण्डारीलाई सम्मान गरिएको छ ।
प्रतिष्ठानले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याउने शिक्षकलाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार सहित ५० हजार नगद र सात प्रदेशमा उत्कृष्ठ शिक्षक पुरस्कार सहित २५ हजार नगद र विजयी सबै विद्यालयलाई १० हजार बराबारको शैक्षिक सामाग्री प्रदान गरेको छ ।
यसैवर्ष देखि विजयी शिक्षकका सबै विद्यालयका उत्कृष्ट, जेहेन्दार र आर्थिक अवस्था कम भएका विद्यार्थीलाई विशेष छात्रवृति पनि प्रदान गरिने फाउन्डेशनका अध्यक्ष शिखर प्रसाँईले जानकारी दिए ।
पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मुर्त रुप दिन २०६७ साल फागुन ६ गते पी.पी. प्रसाई फाउण्डेसनको गठन गरिएको हो । प्रसाईंको आजकै दिन वि.सं २०५६ भदौं २० मा हवाई दुर्घटनामा परि निधन भएको थियो ।
प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार २०:०४