काठमाडौं, १७ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अहित हुन नदिन पनि प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने बताएका छन् ।
अध्यक्ष ओलीले एमालेसँग एक्लै प्रतिष्पर्धा गर्ने आँट नभएपछि सत्तारुढ दलहरुले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि मोर्चाबन्दी गरेको दावी समेत गरे । शनिवार काठमाडौंमा आयोजित प्रदेश नम्बर २ स्तरीय पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्थानीय जनताको हितका लागि पनि प्रदेश नम्बर २
को स्थानीय तह निर्वाचनमा एमालेले जित्नैपर्ने अवस्था रहेको तर्क गरे ।
अध्यक्ष ओलीले आसन्न सबै तहको निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने दावी पनि गरे । उनले प्रदेश नम्बर २ मा एमालेविरुद्ध भ्रम फैल्याइएको भन्दै त्यसलाई चिरेर अघि बढन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेसँग अरु दलले प्रतिष्पर्धा गर्नै नसक्ने दावी समेत गरे । एमाले हात्ति हो र हात्ति दुब्लाएर बाख्रा जस्तो हुन नसक्ने अध्यक्ष ओलीको टिप्पणी छ ।
कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्ति हुनबाट कसैले पनि रोक्न नसक्ने दावी गरे । उनले मधेशका जनताको पक्षमा काम गर्ने पार्टी एमालेबाहेक अरु कोही नभएको दावी पनि गरे । नेता नेपालले बाढी र डुुबान पीडितको राहतका लागि करिव १ करोड नगद सरकारलाई हस्तान्तरण गर्ने काम एमालेबाहेक अन्य दलले गर्न नसकेको पनि स्मरण गराए ।
एमालेका महासचिव इश्वर पोखरेलले प्रदेश नम्बर २ को स्थानीय तहमा पनि एमाले पहिलो शक्ति बन्ने दावी गरे । उनले प्रदेश नम्बर २ का सबै पार्टी नेता कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा जुटन पनि निर्देशन दिए ।
एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा करिव ६१ प्रतिशत स्थानमा आफ्नो पार्टी विजयी हुने दावी गर्दै आएको छ ।
प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार १९:०३