काठमाडौँ १६ भदौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मङ्सिर १० गते ३२ जिल्ला र दोस्रो चरणमा मङ्सिर २१ गते ४५ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । आयोगले भौगोलिक अनुकूलता ध्यानमा राखेर हिमाली र उच्च पहाडी जिल्लामा पहिलो चरणमा र पहाड तथा तराईका जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले दुई चरणमा निर्वाचन हुने प्रदेश र जिल्लाको नाम छुट्ट्याएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेकोमा आयोगले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ । आयोगले प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्बन्धी ऐन शीघ्र उपलब्ध गराइदिन पनि सरकारसँग पुनः आग्रह गरेको छ ।
यसैबीच प्रमुख आयुक्त यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भएकाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन गर्न सहज भएको बताए ।
आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्यसचिव बेगेन्द्रराज शर्मा पौडेल सहितको सचिवालयको टोलीले बुझाएको क्षेत्र निर्धारणसम्बन्धी अभिलेख तथा कागजात ग्रहण गर्दै यस्तो धारणा व्यक्त गरे ।
नेपाल सरकारबाट प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बुधबार नै निर्वाचन आयोगमा पठाइएको थियो । आयोगको अभिलेख तथा अन्य कागजात क्षेत्र निर्धारण आयोगका सदस्यसचिवले निर्वाचन आयोगमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।
यसैबीच आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुर जिल्लास्थित महाकाली नदीमा निर्माण गर्न लागिएको पुलको शिलान्यास आयोगको सहमतिमा गर्नुभएको जानकारी दिएको छ ।
आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले प्रधानमन्त्रीबाट पुल शिलान्यास गर्न प्रधानमन्त्री कार्यालयबाट अनुरोध भई आएकाले सहमति प्रदान गरिएको बताए ।
१० गते चुनाव हुने जिल्ला
१.सोलुखुम्बु २.सङ्खुवासभा ३.भोजपुर ४.ओखलढुङ्गा ५.ताप्लेजुङ ६.पाँचथर ७.खोटाङ ८.नुवाकोट ९.रसुवा १०.धादिङ ११.सिन्धुपाल्चोक १२.दोलखा१३.रामेछाप १४.मुस्ताङ १५.म्याग्दी१६.बागलुङ १७.मनाङ १८.लमजुङ
१९.गोरखा २०.रुकुम (पूर्वी) २१.रोल्पा २२.रुकुम (पश्चिम) २३.जाजरकोट २४.हुम्ला २५.मुगु २६.जुम्ला २७.कालीकोट २८.डोल्पा २९.दार्चुला ३०बझाङ ३१.बाजुरा ३२.बैतडी
२१ गते चुनाव हुने जिल्ला
१.इलाम २.तेह्रथुम ३.धनकुटा ४.उदयपुर ५.झापा ६.मोरङ ७.सुनसरी ८.सप्तरी ९.सिरहा १०.धनुषा ११.महोत्तरी १२.सर्लाही १३.बारा १४.पर्सा १५.रौतहट १६.सिन्धुली १७.मकवानपुर १८.चितवन १९.काभ्रे २०.काठमाडौँ २१.ललितपुर २२.भक्तपुर २३.नवलपरासी (बर्दघाट पूर्व) २४.तनहुँ २५.कास्की २६.स्याङ्जा २७.पर्वत २८.नवलपरासी (बर्दघाट पश्चिम) २९. पाल्पा ३०.अर्घाखाँची ३१.गुल्मी ३२.रूपन्देही ३३.कपिलवस्तु ३४.दाङ
३५.प्यूठान ३६.बाँके ३७.बर्दिया ३८.सल्यान ३९.सुर्खेत ४०.दैलेख ४१.कैलाली ४२.कञ्चनपुर ४३.डडेल्धुरा ४४.अछाम ४५.डोटी
प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार ०७:२३