काठमाडौं, १५ भदौं । प्रहरीले चीनबाट भित्रिएको २२ किलो अबैद्य सुनमध्ये १५ किलो बरामद गरेको छ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो ‘सिआईबी’ ले बुधबार काठमाडौंको टोखाबाट १४ किलो र भारततीर लैजादै गरेको अवस्थामा जनकपुरबाट १ किलो गरी १५ किलो अवैध सुन बरामद गरेको हो । विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यूरो प्रमुख प्रहरी नायव महानिरीक्षक पुष्कर कार्कीले चीनबाट भित्रिएको मध्ये अव ७ किलो सुनको पनि खोजी भईरहेको जानकारी दिए ।
सुनसँगै काठमाडौैं टोखाका पेम्बादोर्जे शेर्पा, भक्तपुरका दिपेन्द्र थापा, राजेन्द्र खत्री, रविन खत्री, काभ्रेका विष्णु गौतम, काठमाडौं नयाँ बानेश्वरका सरोज थापा र जनकपुरका दिपककुमार साहलाई पनि नियन्त्रणमा लिई संगठित अपराध अन्तरगत मुद्दा चलाउने काम भईरहेको पनि व्यूरो प्रमुख प्रहरी नायव महानिरीक्षक कार्कीले बताए ।
व्यूरोले चीनबाट रसुवा हुँदै काठमाडौ भित्रयाउने क्रममा सुन बरामद गरिएको पनि स्पष्ट पारेको छ । २२ केजी सुन मध्ये ८ केजी सुन काठमाडौं बानेश्वरका दिपेन्द्र थापा र सरोज थापाले किनेका थिए । उनीहरुले किनेका सुनमध्ये २ केजी काठमाडौंमा बेचिएको र अरु सुन भारतमा निकासी भर्इंसकेको प्रहरीको आशंका छ ।
सुन तस्करहरुको साथबाट १० च ११९३ नम्बरको गाडी, बा ८० प नम्बरको स्कुटर, ६ वटा सय दरका ६ सय अमेरिकी डलर र विभिन्न दरका १ हजार १ सय ९९ सय चाईनिज युयान नोट पनि प्रहरीले बरामद गरेको छ । ६ महिना अघि पनि व्यूरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको ३४ किलो सुन बरामद गरेको थियो ।
प्रकाशित मिति: १५ भाद्र २०७४, बिहीबार २१:२६