तेह्रथुम, १३ भदौ । मुटु रोगबाट पीडित धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सञ्जय सन्तोषी राईको उपचारका लागि पत्रकारले सहयोग संकलन थालेका छन् ।
नेपाल पत्रकार महासंघले राईको स्वास्थ्योपचारका लागि सहयोग गर्न देश तथा विदेशका सञ्चारकर्मी र शुभेच्छुकलाई आग्रह गरेको छ ।
प्रदेश नं १ का सबै शाखामार्फत सहयोग संकलन गरेर राईको उपचारमा सहयोग गर्न अपिल गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिनाले बताए ।
“उहाँले आफ्नो जीवन पत्रकारितामा बिताउनुभयो, अहिले उहाँलाई हाम्रो सहयोगको खाँचो छ, त्यसैले उहाँको उपचारका लागि सहयोग गर्न सबै सञ्चारकर्मी साथीलाई आग्रह गर्छु,” केन्द्रीय सदस्य तिम्सिनाले भने । उनका अनुसार धनकुटामा पत्रकारबाटै राईको उपचारका लागि रु ५० हजारभन्दा बढी संकलन भइसकेको छ ।
तेह्रथुममा पनि नेपाल पत्रकार महासंघले सहयोग संकलन गरेर पठाउने तयारी गरेको छ । लामो समयसम्म धनकुटामा क्रियाशील पत्रकारिता गरेका राई नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष हुन् । उनले नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालको सदस्य भएरसमेत काम गरे ।
उनको भदौ १८ गते काठमाडौँस्थित गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया गरिने तयारी भएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर श्रेष्ठले बताए । रासस
प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलवार १०:१७