पाल्पा, १२ भदौ । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ अन्तर्गत पर्ने मैनादीको एउटा टोलबाट दैनिक पाँच हजार ५०० किलो गोलभेँडा निकासी हुन थालेको छ ।
उक्त टोलबाट दैनिक ठूलो मात्रामा गोडभेँडा पोखरा, स्याङ्जा, रुपन्देहीमा निकासी हुँदै आएको छ । बीस दिनको अवधिमा दैनिक पाँच हजार किलोसम्म गोलभेँडा उत्पादन भइ पाँच लाखसम्म आम्दानी गाउँमा भित्रिएको छ ।
गोलभेँडाले बजार पाएसँगै किसानले सामान्यतया रु तीन-चार लाखदेखि १०-१२ लाखसम्म आम्दानी लिन सफल भएकोे सहकारीको दाबी छ । दैनिक १०० देखि ७०० किलोसम्म गोलभेँडा बिक्री गर्नेहरु १० भन्दा बढी किसाान छन् ।
मैनादी कृषि सहकारीले किसानलाई बीउ वितरण, प्राविधिक सहयोग, बजारीकरण र ऋण प्रदान गर्न थालेपछि यहाँ गोलभेँडा उत्पादन अहिले बढेको हो । अहिले यस वडामा ६५ जना किसानबाट उत्पादित गोलभेँडा रु ६५ देखि ९० मा थोक मूल्यमा बिक्री गर्दै आएको सहकारीका अध्यक्ष नुरबहादुर कुँवरले जानकारी दिए ।
परम्परागत खेतीबाली छाडेर गोडभेँडा उत्पादनमा मात्र लागेपछि यहाँका किसानको जीवनस्तर फेरिएको छ । मासिक १०० सहकारीमा बचत गरेर रु एक लाखसम्म ऋण पाउने भएपछि किसानले गोडभेँडामा लगानी बढाएका हुन् । अध्यक्ष कुँवरका अनुसार दैनिक ७०० किलो गोलभेँडा बेच्नेहरु दैनिकरुपमा बढेका छन् ।
स्थानीय बासिन्दा डुलबहादुर कुँवरले व्यावसायिकरुपमा गोलभेँडाखेतीबाट गाउँलेको जीवनस्तर माथि उठेको बताए । मेहनत गरेर गाउँमा नै पैसा कमाउन सकिन्छ भन्ने नमूना अहिले पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ बनेको छ ।
बजार व्यवस्थापनका लागि सहकारीले १० युवालाई रोजगारीको व्यवस्था गरेको छ । सहकारीले दुई स्थानमा गोलभेँडा संकलनको व्यवस्था गरेपछि किसानलाई ढुवानीमा सहज भएको किसान प्रेम परियारले बताए । रासस
प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार १७:०७