काठमाडौं, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतभ्रमणमा आफुले दिएको अभिव्यक्तिलाई लिएर विभिन्न तहबाट आएका नकारात्मक टिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
व्यवस्थापिका संसदको सोमबारको बैठकमा समय मागेर बोल्दै प्रधानमन्त्री देउवाले भारतभ्रमणको समयमा आफुले संविधान संशोधनबारे बोल्नु अस्वभाविक नभएको दाबी समेत गरे । संविधान निर्माण, सर्वस्वीकार्यता, कार्यान्वयन लगायत विषय राष्ट्रिय एजेण्टा भएको र ती विषयमा मित्र राष्ट्र अर्थात् छिमेकी राष्ट्रलाई जानकारी गराउनु अस्वीभाविक नभएको उनको तर्क थियो ।
शान्ति प्रक्रिया र लोकतन्त्रलाई संस्थागत गराउने विषयमा सघाउदै आएको छिमेकी राष्ट्रबाट पछिल्लो राजनीतिक अवस्थाबारे जिज्ञासा राख्नुलाई नाजायज भन्न नमिल्ने पनि उनले दाबी गरे ।
भारतको ५ दिने राजकिय भ्रमण मुख्य गरी दुई देशबीचको विश्वासको आधारसिला लाई मजबुत बनाउने, विश्वासको आधारमा गरिने समझदारीलाई दुवै देशका जनताको हितमा हुने गरि फराकिलो र गहिरो बनाउनमा केन्द्रीत भएको भन्दै उनले भ्रमणले समग्रमा दुई देश बीच विश्वासको अभिवृद्धि गरेको दाबी गरे ।
दुईपक्षीय भारत भ्रमणका क्रममा बाढी तथा डुबानको समस्या, पञ्चेश्वर, अरुण तेश्रो र माथिल्लो कर्णाली कार्यान्वयन, धेरै वर्ष देखि कार्यान्वयनमा आउन नसकेका सहमति सम्झौताको कार्यान्वयन तथा उर्जा व्यापार सम्झौताको मर्म अनुसार अन्तरनिहित सबै पक्षको कार्यान्वयन गर्दै लैजाने सहमति भएको पनि उनले जानकारी दिए ।
आफ्नो भारत भ्रमण बारे संसदलाई जानकारी दिने क्रममा उनले त्यहाँ भएका व्यापार सहजिकरण, भन्सार तथा व्यापारिक नाकाहरुको स्तरोन्नति तथा पर्यटनका क्षेत्रमा भएका सहमति सम्झौताको फेयरिस्त नै राखेका थिए ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा मेची पुलको निर्माण गर्ने लगायत ८ वटा समझदारी भएको छ । सो क्रममा प्रधानमन्त्री देउवाले संविधान संशोधनका बारेमा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको गरिमा तथा सिंगो नेपाल र नेपालीको अपमान भएको टिप्पणी गर्दै आएको थियो । प्रधानमन्त्री देउवा भारतको ५ दिने राजकिय भ्रमण पुरा गरि आइतबार सांझ स्वदेश फर्केका हुन् ।
प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार १६:०३