काठमाडौँ ९ भदौ । सहरमा यत्रतत्र लत्रिएका केबुल, टेलिफोन र बिजुलीका तार व्यवस्थित गर्ने टोली खटाइएको छ । सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा विद्युत् प्राधिकरण, नेपाल टेलिकम, दूर सञ्चार संस्थान र निजी केबुल नेटवर्क सञ्चालन गर्ने गराउने सबै तारजन्य सेवाप्रदायक र टेलिभिजन कम्पनीको समन्वयमा त्रिपुरेश्वरबाट कलङ्कीसम्म लत्रिएका तार हटाउने कार्य भइरहेको छ ।
खटिएको टोलीले महाराजगञ्जबाट रानीपोखरीसम्मको क्षेत्रमा दोस्रो चरणमा लत्रिएका तार व्यवस्थापन गर्नेछ । सञ्चार मन्त्रालयका शाखा अधिकृत राजाराम बिडारीका अनुसार लत्रिएका, एक आपसमा जेलिएका र नयाँ फेर्दा पुरानो त्यसै छोडी लतारिएका तारलाई सडकमा रहेका पोलबाट हटाउने कार्य भइरहेको छ ।
विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक सुनिलकुमार ढुङ्गेलका अनुसार यस्ता तारलाई हटाउने विषयमा मापदण्ड समेत तयार गरिएको छ । खासगरी बिजुलीका तार जेलिने अवस्थामा नरहे पनि बिजुलीका तार रहेको पोललाई केवल नेटवर्क लगायतका दर्जनौँ कम्पनीले उपयोग गरिरहेका छन् ।
यस्ता तारले नगरको शोभा बिगार्नुका साथै समस्या पनि ल्याएको सर्वसाधारणको भनाइ छ । यी तार सर्ट भई आगलागी हुँदा विद्युत् आपूर्तिमा समेत समस्याको अनुभव गरिँदै आएको थियो । मङ्गलवार साँझ मात्र घट्टेकुलामा यस्तै अप्रिय आगलागी भई रातभर विद्युत आपूर्ति बन्द रहन गएको थियो ।
कुमारी रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले कुमारी रथयात्रा लगायत उपत्यकाका जात्रापर्वमा समेत लत्रिएका, चुँडिएका र सडक वारपार गरेर गञ्जागोल बनाइएका तार ठूलो समस्या हुने गरेको बताए । नियमअनुसार तारलाई सडक वारपार गराउन नपाइने व्यवस्था छ । ‘तार व्यवस्थापन गर्न सडक विभाग पनि सरिक भएको छ,’ अधिकृत बिडारीले जानकारी दिए ।
प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार ०७:३३