काठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको उडानबाट बुधबार बिहान १० बजे भारत प्रस्थान गरेका हुन् ।
देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक विदेश भ्रमणमा निस्किएका हुन् । प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, मन्त्रीहरु, सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए । यस अवसरमा नेपाली सेनाले प्रधानमन्त्री देउवाको सम्मानमा सलामी अर्पण समेत गरेको थियो ।
भारतीय प्रधान नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भएको यो भ्रमणमा प्रधानमन्त्री देउवाले विहीबार राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री शुष्मा स्वराज, विपक्ष दलकी नेतृ सोनिया गान्धीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
आज नयाँ दिल्ली पुगेलगत्तै राष्ट्रपति भवनमा केहीबेर विश्राम लिएर नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने छन् भने साँझ एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
उच्चस्तरीय राजनीति भेटवार्तापछि प्रधानमन्त्री देउवाले विहीबार नै महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने छन् ।
भ्रमणका क्रममा विगतमा भएका सहमतिलाई कार्यान्वयनमा लैजान जोड दिने एजेन्डा तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महरा पनि रहेका छन् ।
प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार १२:११