काठमाडौ ५ भदौ । सरकारले सात एआइजीलाई प्रदेशको इन्चार्ज बनाएर खटाएको छ । दुई साताअघि बढुवा भएका ११ मध्ये सात एआइजीलाई आइतबार मध्यराति प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । जसअनुसार १ नम्बर प्रदेशमा पशुपति उपाध्याय, २ मा विजयलाल कायस्थ, ३ मा केशरीराज घिमिरे, ४ मा कमलसिंह बम, ५ मा मिडमार लामा, ६ मा रणबहादुर चन्द तथा ७ मा विजयकुमार भट्टलाई पठाइएको छ । पाँच क्षेत्रका डिआईजीलाई हटाएर प्रदेश कार्यालयमा सरुवा गरिएको छ ।
चन्दलाई महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी
महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी एआईजी जयबहादुर चन्दलाई दिइएको छ । पहिलो नम्बरमा एआईजी बढुवा भएका बमबहादुर भण्डारीलाई मुख्यालयमा राखिएको छ । त्यस्तै, देवेन्द्र सुवेदीलाई प्रहरी एकेडेमी, माधव जोशीलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ । बढुवा भएको १७ दिनपछि एआईजीहरूको पदस्थापन गरिएको हो । गत ३२ साउनमै बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावली संशोधन गरी प्रदेशमा एआईजी खटाउने निर्णय भएको प्रहरी महानिरीक्षक प्रकाश अर्यालद्वारा जारी सूचनामा उल्लेख छ । मन्त्रिपरिषद्ले पाँच दिनअघि नै सैद्धान्तिक निर्णय गरे पनि सरुवाको सूची भने आइतबार तय भएको हो । प्रशासनिक संरचनाबिनै एआईजीलाई प्रदेशमा खटाउन समस्या हुने भन्दै प्रहरीभित्र असन्तुष्टि छ ।
प्रहरीलाई संघीय संरचनामा लगेपछि क्षेत्रीय प्रहरी कार्यालयलाई खारेज गरिएको छ भने अञ्चल प्रहरी कार्यालयलाई संघीय प्रहरी एकाइ कार्यालयमा रूपान्तरण गरिएको छ । अञ्चल प्रहरी कार्यालयलाई संघीय प्रहरी एकाइमा रूपान्तरण गरे पनि तालिम केन्द्रलाई भने क्षेत्रीय तालिम केन्द्रकै रूपमा राखेर एसएसपीहरूलाई खटाइएको छ । संघीय प्रहरी ऐन नै नआई प्रहरीलाई यसरी प्रदेशमा खटाउन समस्या आउन सक्ने चिन्ता प्रहरी अधिकृतहरूको भनाइ छ ।
काठमाडौं परिसरमा धानुक, अपराध महाशाखामा लोहनी
हालै बढुवा भएका एसएसपीहरूलाई गृहले महत्वपूर्ण जिम्मेवारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा रवीन्द्र धानुक तथा अपराध महाशाखामा दिवेश लोहनीलाई सरुवा गरिएको छ । अपराध महाशाखाका एसएसपी दिनेश अमात्यलाई कार्यविभाग र प्रद्युम्न कार्कीलाई युक्ति महाविद्यालयमा पठाइएको छ ।
त्यस्तै, ललितपुर परिसरमा गणेश ऐर, पूर्वक्षेत्रीय प्रहरी कार्यालयमा ईश्वरबाबु कार्की, पश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा उत्तम सुवेदी, संघीय प्रहरी एकाइ कोसीमा हरिबहादुर पाल, प्रकाशजंग कार्की कल्याण शाखा तथा विश्वराज पोखरेललाई महानगरीय प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।
१५ डिआइजीको सरुवा र पदस्थापन
नवराज सिलवाल– सुरक्षा परिषद्
पुष्कर कार्की– सिआइबी
सर्वेन्द्र खनाल– ट्राफिक महाशाखा
रमेश खरेल– ट्राफिक निर्देशनालय
उत्तम कार्की– अख्तियार
भोगबहादुर थापा– प्रदेश नं. ३ प्रहरी कार्यालय
पुष्कलराज रेग्मी– महिला तथा बालबालिका सेवा निर्देशनालय
छविलाल जोशी– प्रहरी एकेडेमी
मनोज न्यौपाने– महानिरीक्षकको सचिवालय
ज्ञानविक्रम शाह– प्रदेश नं. १ प्रहरी कार्यालय
ठुले राई– लागुऔषध नियन्त्रण ब्युरो
शरद चन्द– प्रदेश नं. ७ प्रहरी कार्यालय
धीरु बस्नेत– अपराध अनुसन्धान
पुष्पचन्द्र रञ्जित– प्रदेश नं. ४ प्रहरी कार्यालय
सुरेशविक्रम शाह– प्रदेश नं. ६ प्रहरी कार्यालय
गणेश केसी– महानगरीय प्रहरी कार्यालय
रमेश भट्टराई– मानवस्रोत विकास विभाग
मधु पुडासैनी– कार्यविभाग
केदारमानसिंह भण्डारी– जुनियर प्रहरी एकेडेमी, भरतपुर
प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार ०७:४९