चरिकोट, ४ भदौ । चारसय पैसठ्ठी मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएकोे छ ।
डलरको भाउमा आएको उत्तारचडाव, वर्षा र लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण भएको ढिलाइले आयोजनाको लागत झण्डै सात अर्ब बढ्ने समेत अनुमान गरिएको छ ।
गत आव ०७३/७४को असार मसान्तसम्ममा आयोजनाले ९४ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखे पनि साउन मसान्तसम्म आइपुग्दा ९१ प्रतिशत पनि काम सम्पन्न गर्न सकेको छैन । डलरको मूल्यमा उतारचडाव आउनु लक्ष्यअनुसार निर्माण कार्य अगाडि नबड्नु र भूकम्पका कारण आयोजनाको समयसीमा लम्बिदै जानुका कारण रु ३५ अर्ब २९ करोडमा सम्पन्न गर्ने अनुमान गरिएको आयोजनाको लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए ।
विदेशी विनिमय दरमा भएको वृद्धि, बजार मूल्य, भूकम्पले क्षति पु¥याउँदाको दुई वर्ष ढिलाइलगायतका कारण आयोजनाको लागत करिब रु सात अर्ब ४३ करोड बढ्ने अनुमान गरिएको छ । रु ३५ अर्ब २९ करोड लागत अनुमान हुँदा डलरको भाउ करिब रु ८० को प्रक्षेपण गरिएको थियो तर अहिले डलरको भाउ ११० पुगेको छ । आयोजनामा अहिलेसम्म रु ३४ अर्ब ६४ करोड खर्च भइसकेको छ ।
आयोजनाले हालसम्म ९०.५ प्रतिशतमात्र निर्माण कार्य गरेको छ । वर्षा र सडक मर्मतले सामग्री ढुवानीले काममा सुस्तता आएको प्रवक्ता न्यौपानेले बताए ।
निर्माणाधीन लामोसाँघु जिरी सडक खण्ड अन्तर्गतको खाडिचौर चरिकोट खण्डमा सडक चौँडासहित स्तरोन्नतीको काम भइरहेकाले सामग्री ढुवानीमा समस्या भएको हो । प्रवक्ता न्यौपानेले उक्त सडकको विकल्पमा खुर्कोट र खिम्ती हुँदै आयोजनास्थलसम्म ढुवानीको व्यवस्था मिलाइएको बताए ।
प्रकाशित मिति: ४ भाद्र २०७४, आईतवार १४:३५