काठमाडौ ४ भदौ । ‘व्यावसायिक पत्रकारिताको आधार : प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ आइतबारबाट सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहान १० बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको सबै तयारी पूरा भइसकेको महासंघले जनाएको छ । सोमबारसम्म चल्ने महाधिवेशनका लागि जिल्लाजिल्लाबाट प्रतिनिधि राजधानीमा आइसकेका छन् । प्रतिनिधिलाई सुन्धारा, बागबजार र जमलका विभिन्न होटेलमा राखिएको छ । नयाँ नेतृत्वका लागि प्रत्येक तीन÷तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गर्नेछ ।
महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष २ महासचिव १, सचिव ६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । यसपटकदेखि दलित, मधेसी सचिव पनि थपिएको छ । महाधिवेशनले महासंघलाई संघीय संरचनामा लैजानेछ । सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिनेछ । प्रत्येकबाट दुई जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । महाधिवेशनमा १ हजार ५ सय १५ प्रतिनिधिको सहभागिता हुनेछ । महासंघमा करिब १० हजार पत्रकार आबद्ध छन् ।
नेपाल पत्रकार महासंघको २५औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले शनिबार बिहान १० बजेदेखि निर्वाचन कार्यतालिका सुरु भएको जानकारी दिए । उनका अनुसार उम्मेदवारी मनोनयन प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित महाधिवेशन स्थलमा आइतबार दिउँसो १२ देखि ३ बजेसम्म हुनेछ । शनिबार १० बजे मतदाता नामावली प्रकाशन, १० देखि १२ बजेसम्म मतदाता नामावलीमाथि विरोध, दिउँसो ३ देखि ४ बजेसम्म मतादाताको नामावलीमाथि दाबी विरोध राखिएको थियो ।
नेतृत्वका लागि सोमबार बिहान ९ बजेदेखि साँझ ३ बजेसम्म मतदानको समय तोकिएको समितिका संयोजक खनालले जानकारी दिए । मतगणना भने महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा हुनेछ ।
प्रकाशित मिति: ४ भाद्र २०७४, आईतवार ०७:३१