कावासोती २ भदौ । गण्डक नहरका कारण डुबानमा परेको भन्दै बाँध भत्काउन गएका सुस्तावासीलाई प्रशासनले रोकेको छ । गाउँमा जम्मा भएको पानीको निकास दिन भन्दै सुस्तावासी फलामे पुलनजिकै गण्डक नहरको बाँध भत्काउन पुगेका थिए । झन्डै २ सयको संख्यामा रहेका सुस्तावासीले आठ मिटर लामो र झन्डै एक मिटर गहिरो कुलोसमेत खने । तर स्थानीय प्रशासनले नहरमा पानी खसाउन भने दिएन ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयवासी बाँध भत्काउन गए पनि तत्काल सुरक्षाकर्मी परिचालन गरेर रोकेको बताए । ‘खेतको पानी नहरमा हाल्नुप¥यो भनेर स्थानीय पुगेका हुन् तर हामीले भारतीय पक्षसँग कुरा गर्छौं भनेर रोेकेका छौं,’ प्रजिअ रानाले भने ।
अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता–१ र २ डुबानमा परेको थियो । नारायणी नदीमा आएको बाढीका कारण नहरमा पानीको बहाव बढेपछि सुस्ता–१ को बरुवा, छिबनी, फेचुहा र रुपौलिया वडा नम्बर २ अन्तर्गतको सत्तपति र महलबारी डुबानमा परेका छन् ।
गण्डक जलविद्युत् आयोजनाका लागि पानी ल्याउन नहर बनाइएको छ । विद्युत् उत्पादनपछि यो पानीलाई भारतले सिँचाइका लागि लैजाने गरेको छ । तर नहरका लागि बनेको बाँधले सुस्ता डुबानमा परेको सुस्तावासीले बताउँदै आएका छन् ।
क्षतिपूर्ति दिने सहमति
नेपाल र भारतका अधिकारीहरूबीच डुबानपीडितलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।बिहीबार स्थानीयले नहरको बाँध नै भत्काउन खोजेपछि बसेको नेपाल र भारतका अधिकारीहरूको बैठकमा तीन दिनभित्र समस्या समाधान गर्न भारतीय पक्ष सहमत भएको प्रमुख जिल्ला अधिकारी रानाले बताए ।भारतीय पक्षले डुबानका कारण भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउने, नहर सफा गर्ने र नहरको पानीलाई अन्डरग्राउन्ड गरेर लैजाने सहमति जनाएको छ ।
भारतीय पश्चिमी नहरमा पानी निकासका लागि साइफन वा अटोमेटिक फाटक बनाउनुपर्ने एउटै विकल्प मात्र रहेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । आफूहरू डुबानमा पर्ने र पानीको निकास निकाल्न खोज्दा प्रहरीहरूले रोक लगाउने कार्य आपत्तिजनक भएको सुस्ता गाउँपालिका–१ का वडा सदस्य ज्ञानु न्यौपानेको भनाइ छ ।
स्थानीय बासिन्दा एकनारायण न्यौपानेले भारतलाई पटकपटक आग्रह गर्दा पनि निकास नदिएकाले बाध्य भएर बाँध भत्काउन जानुपरेको बताए । डुबानका कारण करिब हजार बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबाली र उखु खेती नष्ट भएको स्थानीयको भनाइ छ । बर्सेनि बस्ती डुबान भएको र खेतीयोग्य जमिन कटान गरेको गुनासो नेपाली प्रशासन र भारतीय पक्षलाई समेत पटकपटक जानकारी गराउँदासमेत बेवास्ता गरेका कारण बाध्य भएर नहर फुटाउन लागेको स्थानीयले बताए ।
प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार ०७:००