सप्तरी ३२ साउन । सप्तरीमा बाढीले उठिबास लगाएको तीन हजार परिवारको बेहाल भएको छ । डुबानले भेट्न नसकेका विभिन्न ठाउँमा पाल टाँगेर बसेका उनीहरू न्यूनतम आधारभूत सुविधाबाट समेत वञ्चित छन् ।
बिहीबारदेखि पाँच दिनसम्मको अविरल वर्षाले विस्थापितहरू खाना, स्वच्छ पानी, औषधोपचार र उचित बसोबासबाट वञ्चित भएका छन् । बाढीले सप्तरीमा तीन हजार परिवारलाई पूर्णरूपमा विस्थापित गरेको नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले बताए ।
बाढीले पूर्णरूपमा घर क्षति भएका र बगाएका परिवार झन्डै एक सातादेखि को.बर्साइनमा तीन सय, सकरपुरामा चार सय, रमपुरा मल्हनियाँमा चार सय, सिस्वा बेल्हीमा ३० परिवारसहित विभिन्न गाउँमा विस्थापित भएको विपद् व्यवस्थापन कार्यक्रम संयोजक राजेश झाले बताए । घर ध्वस्त भएका स्थानमा राजविराज नगरपालिका–२ मा ५५ परिवार स्थानीय विद्यालयमा आ श्रय लिएर बसेका छन् ।विस्थापितमध्ये एक सय २० परिवारको घर बाढीको डुबानमा परेको थियो ।
यता, जिल्ला प्रहरी कार्यालयका अनुसार घर विस्थापित भएकाहरूमा बनरझुला, त्रिकोल, कञ्चनरुप, बैरवा, बोदेबर्साइन, बसबिट्टी, राजविराजका वडा १, २, ५, ६, ७, ९, १० र १५, रुपनी वडा नं. ५, कृष्ण सबरन वडा नं. १ र खड्ग सुरुंगामा एक सय घर पनि बगाएको छ ।
कोइलाडी ८ मुसरी टोलकी ३० वर्षीय सतनीदेवी सदाले आपूmहरूले ६ दिनयता राम्ररी खान र सुत्न नपाएको दुखेसो पोखिन् । त्यसैगरी, को.बर्साइन् वडा नं. १ स्थित वनरझुलाकी दुखनी खंगले अहिलेसम्म राज्यको तर्पmबाट कुनै सहयोग नपाएको बताइन् ।
घरमा भएको धान, गहुँ सबै बाढीले बगायो । घर पूरै डबानमा छ, स्कुलमा बसेका छौं, हामीलाई हेरिदिने कोही भएन ।-सीतादेवी खंग, कुशहा बनरझुला
स्थानीयले दिएको चाउचाउ र बिस्कुटको भरमा जेननेत अडेको बताइन् । ६ बच्चासहित जनता राष्ट्रिय प्राथमिक विद्यालय, हनुमाननगरमा आ श्रय लिएकी खंगले भनिन्, ‘रोजगारी पनि छैन, स्कुल पनि खोल्ने कुरा गर्दै छन्, के खाने, कहाँ बस्ने अन्योल छ ।’
यसैगरी, हनुमाननगर १४ डलवाका बद्री यादव शनिबारदेखि हनुमाननगर–कुनौली सडक किनारमा पाल टाँगेर बस्दै आएका छन् । परिवारसहित शरणार्थी बनेका यादवले खानेपानीको कल डुबेकाले फोहोर पानी खान बाध्य भएको र बच्चाको स्वास्थ्यमा समस्या देखिन थालेको बताए ।
रेडक्रस सभापति भगतका अनुसार बाढीले मधवापुर, पोर्ताहा, बरमझिया, कञ्चनपुर, रुपनगर, बन्द्राहा, कमलपुर, वैरवा, घोघनपुर, वकधुवा, तेरहौता, मैनाकडेरी, लोहजरा, रायपुरका बासिन्दा कष्टसाध्यमा परेका छन् । यसैगरी, शम्भुनाथ, पातो, कविलासा, भुतही, औरही, मौवाहा, तरही, मानराजा, बननियाँ, मल्हनियाँ, छिन्नमस्ता, फकिरा र गोविन्दपुरलाई पनि बाढीले नराम्ररी प्रभावित पारेका छन् ।
कुशहा बनरझुलाकी ६० वर्षीया सीतादेवी खंगले आफ्ना १० जनाको परिवारलाई बाढी आएदेखि खुवाउन मुस्किल परेको बताइन् । ‘घरमा भएको धान, गहुँ सबै बाढीले बगायो’, राहत पाइने आशाले इलाका प्रहरी हनुमाननगरमा भेटिएकी खंगले भनिन्, ‘घर पूरै डबानमा छ, स्कुलमा बसेका छौं, हामीलाई हेरिदिने कोही भएन ।’
विद्यालयमा १४ जनाको परिवारसहित आ श्रय लिएर बसेका को.बर्साइन १ का रामजी रामले ओढ्न कपडा र बाल्न दाउरा नभएको उल्लेख गर्दै भने, ‘नौ महिनाकी गर्भवती बुहारीको सुत्केरी कसरी गराउने भन्ने चिन्ता छ ।’
बाढीबाट विस्थापितको कथा–व्यथा एउटै छ । सप्तरी प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले शिविरमा बसेकाहरूको खाने–बस्ने व्यवस्था गरिएको दाबी गरे । उद्धारपछि प्रारम्भिक चरणको राहत वितरण कार्य भइरहेको र त्यसलाई व्यवस्थित गर्ने प्रयासमा रहेको उनको दाबी छ ।
अबको केही दिनपछि डुबान क्षेत्रमा पानी कम भई विस्थापितहरू घर फर्कने आशा व्यक्त गर्दै प्रजिअ पाण्डेले भने, ‘आज (मंगलबार) देखि राहत वितरणलाई तीव्रता दिएका छौं, भोलिदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै छौं ।’
प्रकाशित मिति: ३२ श्रावण २०७४, बुधबार ०७:३७