काठमाडौ ३१ साउन । सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को माग पूरा गर्न केही दिनपछि मात्र संविधान संशोधन गर्ने भएको छ सरकारले संविधान संशोधन निर्णयार्थ पेस गर्दै भोटिङमा लैजाने तयारी गरे पनि अविरल वर्षासँगै ठूलो जनधनको क्षति भएको र सांसदहरू र समेत बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काममा खटिएकाले संशोधनमा भोटिङको मिति सरेको हो बाढीपहिरोको प्रभाव र उद्धारकार्यमा लाग्ने समय हेरेर मात्र संशोधन संसद्मा पेस गर्ने मिति तय गर्ने सरकारको तयारी छ
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार राजपासँगको भेटमा मंगलबार संशोधन विधेयक पेस गर्ने बताएका थिए । तर सत्तारूढ दलकै सांसदहरू बाढी प्रभावित क्षेत्रमा रहेकाले सरकारले केही दिनपछि मात्र संशोधन अगाडि बढाउने भएको हो ।
कानुनमन्त्री यज्ञबहादुर थापाले सांसदहरू बाढी प्रभावित क्षेत्रमा रहेकाले अनुपस्थित हुने भएकाले आज संशोधन पेस नहुने बताए । ‘बाढीले पु¥याएको क्षतिका कारण सबै सांसद बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ,’ मन्त्री थापाले भने, ‘केही दिनभित्र नै विधेयक टेबुल हुनेछ, मंगलबार नै चाहिँ नगरौं भन्ने भएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र तथा राजपाबीच आइतबार भएको छलफलमा विधेयक पेस गर्ने निर्णय भएको थियो ।
त्यसअघि कांग्रेस, माओवादी केन्द्र र राजपाबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन भोटिङमा लैजाने विषयमा राजपाले सहमति जनाएको थियो
बैठकमा संशोधन निर्णयार्थ पेस गर्ने र फेल भए पनि खेलको नियमअनुसार नै आगामी २ असोजमा हुने स्थानीय तहअन्तर्गत प्रदेश दुईको निर्वाचनमा सहभागी हुने सहमति भएको थियो ।
सरकारले संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरे पनि अझै पनि दुई तिहाइ पुग्ने सम्भावना भने न्यून छ । केही समयअगाडि मात्रै राप्रपा नेपाल विभाजित भएको छ । पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकले संशोधनको पक्षमा मतदान गर्ने जनाउ दिए पनि कमल थापा नेतृत्वको राप्रपाले अझै निर्णय गर्न सकेको छैन
राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले संशोधनको विषयमा के गर्ने भन्ने विषयमा निर्णय नभइसकेको बताए । ‘सरकारले टेबुल गर्ने निर्णय गरोस्, हामी कार्यसम्पादन समितिको बैठक बसेर भोट पक्षविपक्ष केमा गर्ने भन्ने निर्णय गर्छौं,’ उनले राजधानीसँग भने
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा नै सरकारले संशोधन निर्णयार्थ पेस गर्न १७ वैशाखमा प्रक्रिया अगाडि बढाएको थियो बैठकको कार्यसूचीमा नै विधेयक प्रतुत गर्ने कार्यसूची राखे पनि राप्रपाका झन्डै दर्जन सांसद अनुपस्थित भइदिएपछि सरकार विधेयक पेस गर्नबाट पछि हटेको थियो
सत्तारूढ कांगेस माओवादीका शीर्ष नेताले संशोधन सहमतिमा नै पास गराउन प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि उच्चतरमा छलफल गरिरहेको स्रोत बताउँछ । यद्यपि एमालेले संशोधनको पक्षमा सहमति जनाउन नसकिने प्रस्ट पारेको एमाले नेताहरू बताउँछन् ।
प्रकाशित मिति: ३१ श्रावण २०७४, मंगलवार ०७:२९