काठमाडौं ३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका-संसद्को मंगलबार बस्ने बैठकमा संविधान संशोधन विधेयक पेस गर्ने बताएका छन् । राजपा अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँगको छलफलमा देउवाले विधेयक संसद्मा लैजाने जानकारी दिएका हुन् ।
राजपाका नेताहरूले संशोधन विधेयक दुईतिहाइले पारित गरी आफूहरूलाई निर्वाचनमा जाने वातावरण सहज बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । संविधान संशोधन र संख्या वृद्धिलगायत माग पूरा नभएको भन्दै स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनमा राजपा सहभागी भएको थिएन । प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको निर्णयअनुसार प्रदेश नम्बर २ मा थप हुने नौ स्थानीय तहको निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बैठकमा सहभागी राजपाका एक नेताले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘मुद्दा फिर्तालगायत माग पूरा गर्न अन्तिम चरणमा पुगेका छौं ।’
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसमेत सहभागी बैठकमा राजपा नेताहरूले ‘छाता’ चुनाव चिह्न दिन माग गरेका थिए । प्रमुख आयुक्त यादवले अदालतमा मुद्दा विचाराधीन रहेकाले छाता चिह्न दिन नमिल्ने जानकारी गराएका थिए । ‘तपाईंहरू ६ पार्टीमध्ये कुनै एकको चुनाव चिह्नमा उम्मेदवारी दिनुहोस्’, उनले भनेका थिए । राजपा अध्यक्ष ठाकुरले भने ६ दलमध्ये एकको चुनाव चिह्न वैध हुने भए पनि उक्त कार्य अव्यावहारिक भएकाले बाँकी चिह्न मतपत्रबाट हटाउनुपर्ने माग गरे । लगत्तै प्रमुख आयुक्त यादवले भने मतपत्र छापिइसकेकाले अन्य दलको चिह्न हटाउन नमिल्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले पनि पाँच पार्टीको चिह्न मत्रपत्रबाट नहट्दा समस्या हुने बताएका थिए ।
देउवाले तत्कालै जनक शिक्षा सामग्री केन्द्रमा फोन गरी प्रदेश २ को मतपत्र छाप्न लाग्ने समयबारे चासो राखेका थिए । जनक शिक्षाले करिब १५ दिन समय लाग्ने उत्तर दिएपछि उनले नयाँ मतपत्र बनाउने आश्वासन दिँदै राजपालाई चाँडोभन्दा चाँडो कुनै एक चिह्न रोज्न आग्रह गरेका थिए ।
राजपा प्रवक्ता डिम्पल झाले भने निर्वाचन आयोगले नयाँ मतपत्रका लागि सहमति जनाइनसकेको जानकारी दिइन् । ‘आयोगले नयाँ मतपत्रका लागि मञ्जुर गरिसकको परिस्थिति छैन’, उनले अन्नपूर्णसँग भनिन्, ‘नयाँ मतपत्र छापिए वा ६ मध्ये कुनै एक लिनुपरे आपसी परामर्शमा निर्णयमा पुग्छौं ।’
कसको चिह्न कुन ?
तराई-मधेस लोकतान्त्रिक पार्टी- जोडा बयल
सद्भावना पार्टी- तीर
तराई-मधेस समाजवादी पार्टी- साइकल
तराई-मधेस सद्भावना पार्टी- लाठी लिएको मान्छे
फोरम गणतान्त्रिक – रेल गाडी
नेपाल सद्भावना पार्टी – हात
प्रकाशित मिति: ३० श्रावण २०७४, सोमबार ०७:१९