सुर्खेत, २९ साउन । सुर्खेत र दैलेखको विद्युत सेवा गए रातिदेखि अवरुद्ध भएको छ ।
सुर्खेत–कोहलपुर प्रशारण लाइनको बीचमा वर्षाले तार र खम्बामा क्षति पु¥याउदा विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण, सुर्खेत वितरण केन्द्रका सुपरभाइजर विजेश रञ्जितका अनुसार विद्युत् सेवा कुन ठाउँमा अवरुद्ध भएको भन्ने पत्ता लाग्न सकेको छैन् । चेपाङस्थित बबई नदीमा आएको बाढीले बिजुलीको खम्बा बगाएको हुनसक्ने अनुमान गरिएको छ ।
अवरुद्ध विद्युत सेवा सुचारु गर्न गएको टोली राजमार्गको ठाउँ–ठाउँमा गएको पहिरोले रोकिएको सुपरभाइजर रञ्जितले बताए । भारी वर्षा र पहिरोका कारण मर्मत टोली अलपत्र परेको उहाँको भनाइ छ ।
पन्ध्र घण्टादेखि सुर्खेत–नेपालगञ्ज सडक अवरुद्ध
यसैगरी शनिबार रातिबाट परेको वर्षाले सुर्खेत–नेपालगन्ज सवारी आवागमन ठप्प भएको छ । सुर्खेत जोड्ने एकमात्र सडक रत्न राजमार्गको आधा दर्जन बढी ठाउँमा गएको पहिरोले सवारी आवागन झन्डै १५ घण्टादेखि अवरुद्ध भएको हो ।
राजमार्गको सत्तरी, पाँडुले, कालिदमार, सानो हर्रे, निकुञ्ज क्षेत्रभित्र ठाउँ–ठाउँमा पहिरो झरेर सडकअवरुद्ध भएको डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँले आइतबार दिनभर पहिरो हटाउने कार्य जारी रहेपनि पुनः पहिरो खसेका कारण सडक सञ्चालन गर्न नसकेको बताए ।
यता, छिन्चु–हर्रे सडक खण्डको कालिदमारमा सडक भासिएको छ । सडक अवरुद्ध भएपछि सुर्खेतबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत, कर्णाली, जाजरकोटलगायत जिल्ला यात्रुको विचल्ली भएको छ । आइतबार साँझ वा सोमबारसम्म पहिरो हटाएर सडक सञ्चालन गर्ने गरी निरन्तर काम भइ रहेको प्रमुख भुजेलले बताए । रासस
प्रकाशित मिति: २९ श्रावण २०७४, आईतवार २२:००