गोरखा, २७ साउन । आरुघाट गाउँपालिका–१ मान्वु स्यामचेतका ६५ घरधुरीका बासिन्दाले गाउँ छाडेका छन् ।
मचाङ सामुदायिक वन पुल्चोङ डाँडाबाट निरन्तर झरेको पहिरो गाउँमाथि आएपछि बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो । यही साउन २४ गतेदेखि नै पहिरो खस्न शुरु गरे पनि आज बिहान अविरल वर्षासँगै पहिरो झर्ने क्रमः बढेपछि घर जोखिममा परेको हो । स्थानीय सिद्धार्थ वनस्थली निमाविका शिक्षक जीतबहादुर गुरुङका अनुसार सुनराम गुरुङ, बुद्धे लामा, पूर्णबहादुर लामालगायतको घरमाथि पहिरो आइपुगेको छ ।
पहिरोका बीच भागबाट पानीको मूल फुटेपछि माटोसहितको लेदोले गाउँलाई थप जोखिममा पु¥याएको छ । गाउँदेखि करिब २५० मिमाथिको डाँडाबाट पहिरो झरिरहेको छ । पहिरासँगै ठूला ढुंगा पनि झरेकाले गाउँका १५० भन्दा बढी घर उच्च जोखिममा रहेको शिक्षक गुरुङले बताए ।
भूकम्पले चिराचिरा बनाएको पुल्चोङ डाँडा पानी बर्सिएपछि भासिएको छ । गुरुङले भने, “ठूलो पहिरो घर नजिकै आएपछि गाउँलेलाई सिद्धार्थ वनस्थली स्कुलको चौर र आसपासका घरमा पठाएका छौँ । वृद्धवृद्धा, अशक्त, घरपालुवा पशुपक्षी र तत्काल खान मिल्ने अन्नपात सुरक्षित ठाउँमा सारिसक्यौँ ।” पहिराले उच्च जोखिममा पारेको घरबाट अन्नपात निकाल्न सकिएको छैन ।
पहिरो झरेको स्थानमा पुगेका वडा सदस्य आशबहादुर गुरुङ र प्रहरी चौकी मान्वुका प्रहरी सहायक निरीक्षक रेखबहादुर थापाले निरन्तर पहिरो झरिरहेकाले गाउँले र पशुचौपायालाई सुरक्षित ठाउँमा सारिएको बताए। थापाले भने, “अहिले पानी पर्न छाडेको छ । पानी पर्न रोकिएको खण्डमा पहिरो बढ्न पाउँदैन ।”
आरुघाट गाउँपालिका प्रमुख पूर्णबहादुर दाहालले पहिराको जोखिममा रहेका गाउँलेलाई छिमेकीका घरमा राखिएको र आवश्यक परेका खण्डमा त्रिपाललगायत सामग्रीको व्यवस्थापन जिल्ला दैवीप्रकोप उद्धार समितिसँगको समन्वयमा पठाइने बताए ।
प्रजिअ जीतेन्द्र बस्नेतले पहिरो गएको स्थानमा प्रहरी परिचालन गरेर स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा पठाइएको बताउँदै पहिरोले बस्तीलाई बस्नै नहुने गरी जोखिम पु¥याएमा सुरक्षित ठाउँ पहिचान गरी बस्ती नै स्थानान्तरण गर्ने तयारीमा उद्धार समितिले पहल गर्ने जानकारी दिए । रासस
प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार १७:५४