धुलिखेल, २६ साउन । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले हरित क्रान्तिको थालनी सामुदायिक वन उपभोक्ता समूहले गरेको बताएका छन् ।
आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ नाला, पाण्डेगाउँस्थित सानोवन सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको ‘सामुदायिक वन राष्ट्रिय दिवस २०७४’ कार्यक्रममा उनले सामुदायिक वनको अवधारणा नआएको भए नेपालको हरियाली वन सकिएर जाने अवस्था रहेको बताए ।
मन्त्री गौतमले भने, “कृषि र वनलाई उद्योगको रुपमा विकास गर्दै लैजाने हो भने हरियाली वातावरण निर्माणको अभियान अगाडि बढाउन सजिलो हुनेछ ।”
वन, कृषि र सिँचाइको विकासका लागि सम्बन्धित मन्त्रालयबीच समन्वय गरेर काम गरे मात्रै समृद्धिको दिशामा मुलुक अगाडि बढ्न सक्ने उनले बताए ।
सांसद कञ्चनचन्द्र वादेले सामुदायिक वनको विकास र संरक्षणका लागि समुदायस्तरबाटै सक्रिय भएर लागेमा सबैले सोचेको जस्तो सामुदायिक वनको विकास छिटो हुने धारणा व्यक्त गरे ।
जिल्ला वन कार्यालयका प्रमुख प्रेम खनालले समूहले वन संरक्षणको विकासमा खेलेको भूमिका प्रसंशनीय रहेको उल्लेख गर्दै सामुदायिक वन उपभोक्ता समूहमध्ये सबैभन्दा पहिलो सामुदायिक वन ‘सानोवन सामुदायिक वन उपभोक्ता समूह’ भएको जानकारी दिए ।
काभ्रे वनपैदावर उद्योग व्यवसायी संघका अध्यक्ष माधवमणि हुँमागाइले वन नीति तथा कानुनी सवालमा अन्योल देखिएको भन्दै नीतिगत व्यवस्थापन र त्यसको कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । रासस
प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार १८:१६