राजविराज, २५ साउन । सप्तरीको राजविराज नगरपालिका–९ स्थित मलेठका बाढीपीडितलाई मंगलबार राहत वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी निवास, राजविराजमा आयोजित एक कार्यक्रमका बीच नेप्लिज ब्रिटिश कम्युनिटी, युके, नेपाल रेडक्रश सोसाइटी, शाखा सप्तरी र नेपाली काँग्रेसका नेता एवं सांसद धनराज गुरुङद्वारा उपलब्ध गराइएको सो राहत सामग्री आइडिया नेपालको समन्वयमा वितरण गरिएको हो ।
त्यहाँ रहेका ८३ परिवारलाई १० किलो चामल, दुई किलो दाल, एक किलो नुन, खाने तेल एक प्याकेट, झुल, बाल्टिन र कम्बललगायतका सामग्रीसहितका राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।
यस्तै, नेपाल रेडक्रश सोसाइटी, शाखा सप्तरीले ८३ थान कम्बल र ३३ थान झुल उपलब्ध गराएका छन् । सांसद गुरुङले ४० थान सुपरनेट झुल र बाँकी सामान नेप्लिज ब्रिटिश कम्युनिटी, युकेको सौजन्यमा उपलब्ध गराएका थिए ।
राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कटुवाल, नेपाली सेनाको कृष्णदल गणका गणपति सुरेन्द्रदेव बोगटी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, राजविराजका प्रहरी उपरीक्षक रामआधार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, आइडिया नेपालका अध्यक्ष सञ्जीवविक्रम साह, संस्थाका नीरजकुमार मण्डलसमेतको उपस्थिति थियो । रासस
प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार १०:४६