काठमाडौं, २४ साउन । पार्टीमा फुटाउनसमेत भूमिका खेलेको आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीको मंगलबार बसेको केन्द्रिय कार्य समितिको बैठकले पार्टीलाई विभाजित गर्ने कार्यमा भूमिका खेलेको लगायतका आरोप लगाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कमल थापाले पार्टी विभाजित गर्ने कार्यमा समेत भूमिका खेलेका कारण सरकारबाट बाहिरिने निर्णय लिनु परेको जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार मधेशको समस्या समाधान गर्न उदासिन रहेको तथा आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित रहेको आरोप पनि लगाएको छ ।
बैठकले पार्टीको विभाजनबाट नआत्तिन पनि पार्टी नेता, कार्यकर्तालाई आह्वान गरेको छ । पार्टी भित्रका केही स्वार्थी, सत्ताभोगी, आत्मसमर्पणवादी मानसिकता भएकाहरुले राष्ट्रियतालाई कमजोर पार्न र नेपाललाई हिन्दु राष्ट्र बन्न नदिन पार्टीमा विभाजन ल्याएको आरोप लगाउँदै त्यसबाट विचलित नहुन पार्टी नेता कार्यकर्तालाई बैठकले आह्वान गरेको हो ।
हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र जस्ता पार्टीको मूल मर्मप्रति प्रतिवद्ध रहेर अघि बढन पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरिएको अध्यक्ष थापाले जानकारी दिए । पार्टी नेतृत्वले जनताको विश्वास गुमाएको आरोप लगाउँदै आइतबार पशुपति शमशेर राणासहितका नेताहरुले पार्टी छाडेलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका थिए ।
पार्टीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अरवौको भ्रष्टाचार भएको आरोप लगाउँदै तत्काल छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरेको छ । बैठक बुधबार पनि बस्ने र प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारीलाई मूल एजेन्डा बनाएर छलफल हुने पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलवार १८:१३