काठमाडौं, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका केही सांसद र केन्द्रिय सदस्यहरुलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरेको छ।
काठमाडौंमा उपलब्ध पार्टीका केन्द्रिय सदस्यहरुको सोमबार बसेको आकस्मिक बैठकले सांसद र केन्द्रिय सदस्य गरी १६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो । ६ वर्षसम्म पार्टीको साधारण सदस्य समेत नरहने गरी केही सांसद र केन्द्रिय सदस्यहरुलाई पार्टीबाट निष्कासन गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
आइतबार पशुपति शमशेर राणाले पार्टी छाडेर आफ्नो नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका थिए । पार्टीमा विभाजन आएपछि बसेको केन्द्रिय कार्य समितिको आकस्मिक बैठकले सांसदहरु दिपक बोहोरा, सुनिल थापा, बिराज भट्ट, राज्यलक्ष्मी श्रेष्ठ, बबिना लावती र रेशम लामालाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको हो ।
त्यसैगरी पार्टीले हरिबहादुर बस्नेत, रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत, नवराज सुवेदी, किरण गिरी लगायतका केन्द्रिय सदस्यहरुलाई पनि पार्टीबाट निष्कासन गरेको छ । बैठकमा निर्वाचनको तयारीमा जुटने बेला पार्टी विभाजन गरेर राणा पक्षले राजनीतिक अपराध गरेको आरोप समेत लगाइएको छ ।
अध्यक्ष कमल थापाले पार्टीको विभाजनबाट नआत्तिन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका थिए । केही व्यक्तिलाई मन्त्री बन्ने रहर जागेपछि पार्टी विभाजन गर्ने राजनीतिक अपराध राणाले गरेको नेता सुशीलकुमार श्रेष्ठले आरोप लगए ।
देउवा नेतृत्वको सरकारमा सहभागी हुने÷नहुने विषयमा थापा र राणाबीच मतभेद थियो । थापा पक्षले सरकारमा जाने चाहना पूरा नभएपछि राणा पक्षले पार्टीनै विभाजन गरेको आरोप लगाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी विभाजनको समग्र पक्षको विश्लेषण गर्न मंगलबार पार्टी केन्द्रीय कार्य समितिको औपचारिक बैठक बोलाएको छ । बैठकमा प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारीको विषयमा पनि छलफल हुने नेता श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार १७:१५