काठमाडौं, २२ साउन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेसंगै राप्रपा औपचारिक रुपमा विभाजन भएको हो ।
१९ जना सांसद र ६७ जना केन्द्रिय सदस्यलाई साथमा लिएर राणाले गठन गरेको नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राखिएको छ । वरिष्ठ नेता राणाले आईतबार सांझ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् भने संसद सचिवालयमा समेत नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।
नयाँ पार्टीमा सुनिल थापा, विक्रम पाण्डे र दिपक बोहोरा प्रत्यक्ष निर्वाचित सांसदहरु रहनु भएको छ । पार्टीले स्पष्ट एजेण्डा बनाउन नसकेका कारण स्थानीय तह निर्वाचानमा लज्जास्पद हार भएको तथा पार्टी संचालन नेतृत्वमा कमजोरी रहेका कारण आफुले पार्टीको विरासत जोगाउन अर्को दल दर्ता गर्न बाध्य भएको नेता राणाले बताए ।
नयाँ पार्टीमा नवराज सुवेदी , जगत गौचन, कमला शर्मा, रेशम लामा , प्रदिप उदय, वबिना मुक्तान , दुर्गा श्रेष्ठ लगायतका सांसद पदाधिकारीहरु रहेका छन् । गत मंसीर ६ गते थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल र राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरण भएको थियो ।
पार्टी सरकारका जानुपर्ने वरिष्ठ नेता राणाको आग्रहलाई अध्यक्ष थापाले अस्विकार गरेपछि दुई नेताबीचको सम्बन्ध चिसिदै गएको थियो । यस अघि पार्टीमा वरिष्ठ उपाध्यक्ष रहेका प्रकाशचन्द्र लोहनीले पार्टी एकिककरणको मर्म विपरित हिडेको भन्दै पार्टी त्यागी नया पार्टी खोलेका छन् ।
प्रकाशित मिति: २२ श्रावण २०७४, आईतवार २०:२४