काठमाडौं, २२ साउन । सरकारले सुख्खा एवम् खडेरी प्रभावित पूर्वी तथा मध्य तराईका जिल्लाहरुमा राहत कार्यक्रम घोषणा गरेको छ ।
कृषि विकास मन्त्री रामकृष्ण यादवले प्रदेश नम्बर २ को ८ जिल्लामा सुख्खा एवम् खडेरी प्रभावित पूर्वी तथा मध्य तराईका जिल्लाहरुमा राहत कार्यक्रम घोषणा गरेका हुन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषित कार्यक्रममा तत्काल सिंचाई व्यवस्थापन गर्न थप ५ सय स्यालो टयूबेलको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी धान रोपाईका लागि पानीको स्रोत बन्न सक्ने खोला, घोल, ताल आदिबाट पानी तानि सिंचाईको व्यवस्थाका लागि प्रति जिल्ला २५ का दरले करिव ५० लाख रुपैयाँ बराबरको पाईप वितरण गरिनेछ ।
मन्त्री यादवले तत्काल धान रोपाई गर्न सिंचाईको व्यवस्था गर्ने कार्य तत्काल सुरु गर्न लागिएको जानकारी दिए । उनले डिप बोरिङको व्यवस्था गर्न जिल्ला कृषि विकास कार्यालयहरुलाई निर्देशन दिइएको पनि उल्लेख गरे ।
सरकारले सिंचाईको स्रोत नै नभएको सुख्खा क्षेत्रमा छरुवा धान छर्ने खेती प्रणालीका लागि आवश्यक उन्नत जातका बीऊहरु वितरण पनि गर्ने भएको छ । प्रदेश नम्बर २ को ८ जिल्लाका लागि करिव १० लाख बराबरको छरुवा धानका उन्नत जातका बीऊहरु वितरण गर्ने निर्णय लिइएको पनि मन्त्री यादवले जानकारी दिए ।
कृषि विकास मन्त्रालयले धान रोपाई नभएका सुख्खा ठाउँहरुको समस्या पहिचान गरी समाधान गर्न एक उच्चस्तरीय समितिनै बनाएको छ । त्यसैगरी मन्त्रालयले बारा र पर्सा जिल्लामा भकारो सुधार, बीज वृद्धि, युवा लक्षित तथा विपन्न वर्गलाई करिव १९ लाख ७६ हजार रुपैयाँ बराबरको आयआर्जन कार्यक्रम अविलम्ब संचालन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्री यादवले रासायनिक मलको तत्काल व्यवस्था गर्न पनि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताए । उनले राहत कार्यक्रमलाई कार्यान्वयनमा लैजान अनुगमनको कामलाई कडाईका साथ लागू गर्ने प्रतिवद्धता जनाए ।
प्रकाशित मिति: २२ श्रावण २०७४, आईतवार १९:१७