काठमाडौँ, २१ साउन । काठमाडौँ महानगरपालिका–२६ नेपाली काँग्रेसले नवनियुक्त रक्षामन्त्री भीमसेनदास प्रधान र सिँचाइ मन्त्री सञ्जय गौतमलाई सम्मान गरेको छ ।
हिन्दू नारीको महान् पर्व हरितालिका तीजको अवसर पारेर आज रक्षामन्त्री र सिँचाइ मन्त्रीलाई सम्मान गरेको हो ।
कार्यक्रममा रक्षामन्त्री प्रधानले तीन तहको निर्वाचन समयमा सम्पन्न गर्ने यो सरकारको प्रमुख लक्ष्य रहेको बताए । उनले मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिका लागि लाग्नुपर्ने बताए ।
मन्त्री प्रधानले काठमाडौँ क्षेत्रका बासिन्दाले दोस्रो संविधानसभाको निर्वाचनमा जिताएका कारण आफू अहिले मन्त्री बनेको बताउँदै काठमाडौँको विकासका लागि आफू कटिबद्ध भएर लाग्ने बताए ।
सिँचाइमन्त्री गौतमले मुलुकमा धेरै स्रोत साधन हुँदा पनि पछाडि परेको भन्दै अब यसलाई सदुपयोग गरी मुलुकलाई विकासमा लैजानु मुख्य चुनौती रहेको बताए ।
उनले जननायक बिपी कोइरालाको विचारलाई स्थापित गर्नका लागि आफू राजनीतिमा लागेको बताउँदै बिपीले कल्पना गरेको सपनालाई पूरा गर्ने आफ्नो लक्ष्य रहेको जानकारी दिए ।
नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज(कृष्ण) बानियाँले पार्टीभित्रको आन्तरिक कलहका कारण स्थानीय तहमा काँग्रेसले पराजय भोग्नुपरेको बताउँदै अब प्रान्तीय र केन्द्रीय निर्वाचनमा एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।
सांसद कौशर शाहले पार्टीभित्र धेरै गुटउपगुट भए पनि निर्वाचनको समयमा यसलाई बिर्सेर अगाडि बढे मात्र पार्टीले जीत हासिल गर्नसक्ने बताए ।
कार्यक्रममा काँग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाका अध्यक्ष अर्जुन सिम्खडा, काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, काठमाडौँ महानगरपालिका २६ वडाका अध्यक्ष खेमराज तिवारी, १६ वडाका अध्यक्ष मुकुन्द रिजालले स्थानीय तहको निर्वाचनमा काँग्रेसले जितेका वडालाई नमूना वडा बनाई आगामी दिनमा काँग्रेसको आधार क्षेत्र बनाउने गरी काम गर्नुेपर्ने बताए । सो अवसरमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मानसमेत गरिएको थियो । रासस
प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार १८:४०