काठमाडौँ, २० साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण निर्माणमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्वाइन्ट मिडिया प्रालिद्वारा सञ्चालन हुँदै आएको अर्थ र व्यापार साप्ताहिकको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘आर्थिक समृद्धिमा संघीयताको भूमिका र संघीयतामा पर्यटकीय गन्तव्य विकासको सम्भावना’ विषयक अन्तत्र्रिmयामा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
मन्त्री बस्नेतले सञ्चारको विकास भएमात्र मुलुकको विकास हुने हुँदा यसको विकास आफ्नो प्रमुख प्राथमिकता भएको बताउँदै “सञ्चार क्षेत्रमा लागेका मानिसहरुको भविश्य अन्योलमा छ यो क्षेत्रलाई मैले राम्रोसँग बुझेको छु”, भने ।
सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आफूलाई मौखिक र लिखित सुझाव दिन सञ्चारकर्मीसँग आग्रह गर्दै उनले स्थानीय तहको निर्वाचनसँगै मुलुक संविधान कार्यान्वयनको दिशामा अगाडि बढेको धारणा व्यक्त गरे ।
तीनवटै तहको निर्वाचन गरेर मुलुकलाई आर्थिक विकासको बाटोमा लैजाने सरकारको प्रमुख लक्ष्य रहेको पनि मन्त्री बस्नेतले बताए ।
ट्रेकिङ एजेन्स् एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष ज्योति अधिकारीले पूर्वाधार विकास भएमात्र देशको विकास हुने बताउँदै पूर्वाधार निर्माणका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले भने, “मुलुक निर्माणका लागि सञ्चारकर्मी गम्भीर हुनुपर्छ ।”
पर्यटन व्यवसायी रामप्रसाद थपलियाले संघीयताको विकाससँगै पर्यटनको विकास गर्न सके देश विकासको बाटोमा अगाडि बढ्ने बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले अत्यधिक सम्भावना भएको क्षेत्र पर्यटनलाई मुलुकले प्राथमिकता दिनुपर्ने विचार व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदीप न्यौपानेले पत्रकारिताको माध्यमबाट अर्थ र व्यापार पत्रिकाले पु¥याएको योगदानको कदर गर्दै आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्नुपर्ने बताए ।
पाँच वर्ष अगाडि अर्थ र व्यापार मासिकका रुपमा स्थापना भएको अर्थ र व्यापारले प्रविधिमा आएको परिवर्तनसँगै अर्थ र व्यापार डटकम अनलाइनसमेत सञ्चालन गरेको संस्थाका प्रबन्ध निर्देशक नवीन काफ्लेले जानकारी दिए ।
कार्यक्रममा यो वर्षको अर्थ र व्यापार अवार्ड व्यवसायी ओमप्रसाद उप्रेती र पत्रकार शरदराज सुवेदीलाई प्रदान गरिएको थियो । दुबईमा बसेर व्यवसाय गर्दै अाएका युवा व्यवसायी उप्रेतीलाई सम्मानपत्र र दुई दशकदेखि गोरखापत्र संस्थानमा आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार सुवेदीलाई रु १५ हजार नगद र सम्मान गरिएको थियो । रासस
प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार १७:४८