भीमदत्तनगर, १७ साउन । किचाही मुक्तकमैया शिविरका ३० वर्षीया रमिता राना (बडायक) कञ्चनपुरको कृष्णपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भइन् । उनी विगतमा कृष्णपुर नगरपालिका– ४ किचाही मुक्तकमैया शिविरमा श्रीमान् वीरबहादुर रानासँगै पसल सञ्चालन गरी गुजारा चलाउँदै आएकी थिइन् । तर अब रमिताको परिचय फेरिएको छ ।
रमिता कृष्णपुर नगरपालिकाको उपप्रमुख बनेकी छन् । उनी राना थारु समुदायबाट उपप्रमुख पदमा पुग्ने मुलुककै पहिलो महिला भएकी छन् । उपप्रमुख रानाले नगरपालिकाको विकाससँगै आफ्नो समुदाय र मुक्तकमैया, बाढीपीडितलगायत निम्नआयस्तर भएका समुदायका लागि रोजगारको पहल थाल्ने बताएकी छन् ।
मुक्तकमैया बस्तीको पीडा र अभावका विषयमा स्वयम् जानकार रहेकाले उनले मुक्तकमैयालाई सीपमूलक तालिम दिई रोजगारका लागि पहल थाल्ने बताइन् । मुक्तकमैया शिविरमा सडक निर्माण र सुधार कार्य थाल्ने राना बताउँछिन् ।
सात वर्षअघि वीरबहादुरसँग विवाह गरेर मुक्तकमैया शिविर पुगेकी उपप्रमुख रानाले राना थारु समुदायको हकहित संरक्षण तथा सामाजिक, शैक्षिकलगायत सुधारका लागि विशेष पहल गर्ने योजना बनाएकी छन् । आर्थिक अभाव र बेरोजगारीका कारण राना र चौधरी समुदायका विद्यार्थी बीचमै पढाइ छाड्छन् । उनले कृष्णपुरमा थारु संग्रहालय बनाउन पहल थाल्ने बताइन् ।
आदिवासी जनजाति संघ-संस्था हुँदै नेकपा (एमाले)को राजनीतिमा प्रवेश गरेकी रानाले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेकी छन् । “मुक्तकमैयालाई सरकारले उपलब्ध गराएको पाँच कट्ठा जग्गाले खान पुग्दैन,” उनले भनिन् । थारु संस्कृती जगेर्ना गर्न भकुण्डामा थारु संग्रहालय निर्माण भइरहेको बताउँदै रानाले थारु संस्कृति लोप हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरीन् ।
स्थानीय तहको निर्वाचनमा सात हजार १८ मतसहित उपप्रमुखमा विजयी रानाका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार भुवनेश्वरी जोशीले पाँच हजार ९२८ मत पाएकी थिइन् । रासस
प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलवार १६:१९