रामपुर (पाल्पा), १७ साउन । गण्डकीबेँसीकै महत्वका रुपमा रहेको ऐतिहासिक ‘लक्ष्मीनारायण गुठी’ अलपत्र अवस्थामा रहेको छ ।
पौराणिक समयमा धार्मिक तीर्थस्थलका रुपमा परिचित रामपुरको लक्ष्मीनारायण गुठी संरक्षण नहुँदा अहिले अलपत्र बनेको हो ।
रामपुर नगरपालिका–४ स्थित खोप्टारमा रहेको यस गुठीको भौतिक संरचना मर्मत तथा सम्भारमा सरोकारवाला निकाय, स्थानीयवासीले चासो नदिँदा ऐतिहासिक महत्व नै हराउँदै गएको छ । विसं १८७९ मा साबिक रामपुर गाविस वडा नं ८ बस्ने समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गरेका हुन् ।
यहाँ तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ट व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रुपमा गुठी निर्माण गरिएको हो । तत्कालीन समयमा निकै महत्वका साथ हेरिएको यस ऐतिहासिक गुठी अहिले बेवारिसे अवस्थामा रहँदा स्थानीय सरोकारवाला व्यक्तिले चिन्ता व्यक्त गर्न थालेका छन् ।
तीनतले आठ कोठा रहेको सो गुठी झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । केही समय त रेग्मी परिवारले संरक्षण गरेपनि विगत २० वर्षयता यो संरक्षणविहीन हुँदा जीर्ण अवस्थामा छ ।
रेग्मी परिवारको स्वामित्वमा रहेको यस ऐतिहासिक गुठीको पुनःनिर्माणका लागि आर्थिक रकम अभावले जीर्ण बन्दै गएको रेग्मी परिवारका बुद्धिप्रकाश रेग्मीले बताए । गुठीको नाममा रहेको जग्गा भोगचलन गर्ने मोहीहरुले गुठीलाई बुझाउनुपर्ने उत्पादन नबुझाउँदा पनि यसले निकास पाउन नसकेको उनले बताए ।
“गुठीको नाममा रहेको जग्गा भोगचलन गर्ने व्यक्तिले गुठीको स्याहार संरक्षण गर्ने गरी परम्परादेखि नै सम्झौता बमोजिम भोगचलन भएपनि पछिल्लो समय मोहीवालाले करबापतको रकम, अन्नपात नबुझाउँदा गुठी संरक्षणमा समस्या परेको छ”, उनले भने ।
मोहीवालालाई ताकेता गरेर भएपनि विभिन्न क्षेत्रसँग आर्थिक रकम संकलन गरेर अब छिट्टै नै गुठीको भौतिक संरचना पुनःनिर्माण गर्ने रेग्मी बताउँछन् ।
यस गुठीमा पहिले टाढाटाढाबाट दिनमा ३० जनाभन्दा बढी यहाँ बास बस्ने गरेको बूढापाका बताउँछन् । यहाँ बाटो हिँड्ने बटुवाका लागि खाने, बस्नेको राम्रो प्रबन्ध मिलाइएको थियो । बुटवल बजारमा सामान लिन जानेहरु यहीँ बास बसेर आउने जाने गरेको स्थानीयवासीको भनाइ छ ।
गण्डकीबेँसीमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी क्षेत्रकै महत्वपूर्ण दरबारका रुपमा रहेको यस लक्ष्मीनारायण गुठीको संरक्षणमा यहाँका स्थानीय सरोकारवाला निकाय नै अघि बढ्नुपर्ने आवश्यकता छ ।
पौराणिक समयमा निकै नाम चलेको र महत्वका रुपमा रहेका यस्ता प्राकृतिक तथा सांस्कृतिक सम्पदा पछिल्लो पुस्ताले संरक्षणमा जोड नदिँदा अहिले भताभुंग अवस्थामा रहेका छन् । यस्ता ऐतिहासिक संरचनालाई जोगाउन स्थानीय निकाय नै अग्रसर भएमा मात्र संरक्षण हुनेछ । रासस
प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलवार ०९:३७