भक्तपुर, १६ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्न सर्वोच्च अदालतले दिएको आदेश दुःखद् भएको टिप्पणी गरेको छ । सोमबार बसेको पार्टी स्थायी समिति बैठकले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्न सर्वोच्च अदालतले दिएको आदेश दुःखद् भएको प्रतिक्रिया दिएको हो ।
भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बसेको बैठकले सर्वोच्च अदालतको सो आदेशले जनताको अभिमतको अपमान गरेको निष्कर्ष निकाल्दै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता समेत व्यक्त गरेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने सर्वोच्च अदालतको आदेश दुःखद् भएको निष्कर्ष निकालिएको पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले सर्वोच्चको यो आदेशले भविष्यमा गलत नजिर बस्ने हो कि भन्ने चिन्ता पार्टी पंक्तिमा छाएको प्रतिक्रिया पनि दिए ।
बैठकले भरतपुर वडा नम्बर १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै पार्टीका उम्मेदवार देवी ज्ञवालीको पक्षमा मतदान गरी न्याय गर्ने विश्वास पनि व्यक्त गरेको छ । सचिव भट्टराईले बैठकले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान हुने भएकाले त्यसको तयारीमा जुटन पनि स्थानीय पार्टीलाई निर्देशन दिइएको पनि उल्लेख गरे ।
एमालेले सबै तहको निर्वाचन सम्पन्न नभई संविधान संशोधन प्रस्ताव अघि नबढाउन पनि सरकार र सत्तारुढ दलहरुलाई चेतावनी दिएको छ । सचिव भट्टराईले सबै तहको निर्वाचन सम्पन्न नभई संविधान संशोधन प्रस्ताव अघि नबढाउने सहमति उलंघन नगर्न पनि सरकार र सत्तारुढ दलहरुलाई बैठकले आग्रह गरेको उल्लेख गरे । उनले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावमा पार्टीको गम्भिर असहमति रहेको पनि स्मरण गराए ।
पार्टी स्थायी समिति बैठकले देशका विभिन्न जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको उम्मेदवारी पनि तय गरेको छ । जस अनुसार काठमाडौंको प्रमुखमा शिव बैद्य र उपप्रमुखमा सरिता दाहाललाई उम्मेदवार बनाइएको छ ।
त्यसैगरी धादिङमा जगन्नाथ नेपाललाई प्रमुख र विन्दबरण नेपालीलाई उपप्रमुख, दैलेखमा प्रेमबहादुर थापालाई प्रमुख र लक्ष्मी शाहलाई उपप्रमुख, ताप्लेजुङमा घनेन्द्र मादेनलाई प्रमुख र देवीमाया नेपालीलाई उपप्रमुख, सिन्धुपाल्चोकमा गोपाल तामाङलाई प्रमुख र बालकुमारी सापकोटालाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय पनि गरिएको छ ।
एमालेले पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा जिल्ला समन्वय समितिका उम्मेदवारहरु तय गर्दै आएको छ ।
प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार २०:३३