काठमाडौँ, १६ साउन । राष्ट्रिय महिला आयोगलाई शक्तिशाली आयोग बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् ।
आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ माथि आज संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको आयोजना सिंहदरवारमा भएको छलफलमा सांसदहरुले पीडित महिलाको गुनासो सुन्ने र सम्बोधन गर्न सक्ने शक्तिशाली आयोग बनाउनुपर्ने सुझाव दिएका हुन् ।
समितिका सभापति रञ्जुकुमारी झाले संविधानले नै आयोगलाई संवैधानिक निकायका रुपमा मानेको हुनाले अब पहिलेको भन्दा बढी शक्तिशाली आयोग बन्ने बताइन् । उनले आयोगलाई बढीभन्दा बढी महिलामैत्री बनाइने बताइन् ।
छलफलमा आयोगकी कार्यबाहक अध्यक्ष भगवती घिमिरेले अहिलेको ऐनलाई हुबहु पारित गर्दा आयोगका अधिकार र कर्तव्य कटौती हुने भएकाले बढी महिलामैत्री बनाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले भनिन्, “आयोगलाई पछाडि फर्काउने तरिकाको ऐन बनाउनुहुँदैन । अझ अधिकारसम्पन्न आयोग बनाउनुपर्छ ।”
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव कमलशाली घिमिरेले आयोगसम्बन्धी ऐन पहिलेको भन्दा अझ सहभागितामूलक बन्ने बताए । उनले संविधानबमोजिमका प्रावधान विधेयकमा राखिनेछ भने ।
छलफलमा सांसद जितबहादुर गौतम, रुक्मनि चौधरी, मधु गुरुङलगायतले आयोगले महिलाका विषयमा पर्याप्त काम गर्न नसकेको भन्दै विधेयकलाई महिलामैत्री बनाउनुपर्ने बताए । उनीहरुले स्थानीय तहमा महिला हिंसाका घटना बढी हुने भएकाले स्थानीय तहमा पनि आयोग गठनको आवश्यकता रहेको बताए ।
नयाँ संविधानअनुसार आयोग संवैधानिक निकाय रहेकाले नयाँ ऐन ल्याउनका लागि समितिले सरोकारवाला निकायसँग छलफल गरेको हो । रासस
प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार १८:०९